Below Menu
Below Menu

रेमिट्यान्स आप्रवाह ३५ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो साढे पाँच खर्ब ! 

रेमिट्यान्स आप्रवाह ३५ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो साढे पाँच खर्ब ! 

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा साढे पाँच खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो । 

असोज मसान्तसम्म आईपुग्दा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो ।

असोज महिनाको विप्रेषण आप्रवाह दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । 

असोज मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) छ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।
 

Advertisment

थप समाचार