काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा सरकारको कुल खर्च साढे तीन खर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो ।
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्ममा नेपाल सरकारको कुल खर्च तीन खर्ब ६४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।
यस अवधिमा चालु खर्च दुई खर्ब ५६ अर्ब ८१ करोड, पुँजीगत खर्च १९ अर्ब १८ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च ८८ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) दुई खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यसअन्तर्गत कर राजस्व दुई खर्ब ३४ अर्ब ३३ करोड र गैरकर राजस्व १४ अर्ब ७२ करोड रुपैयाँ परिचालन भएको छ ।
असोज मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ७४ अर्ब ९२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । असार मसान्तमा यस्तो मौज्दात एक खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ रहेको थियो ।
यसअवधिमा प्रदेश सरकारहरूको कुल खर्च १७ अर्ब १५ करोड रुपैयाँ र स्रोत परिचालन ४५ अर्ब ८ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ३५ अर्ब ७ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
देशको आर्थिक तथा वित्तीय स्थिति
- वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ ।
- कुल विदेशी विनिमय सञ्चिति रु.२९७९ अर्ब ८१ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब २१ करोड पुगेको छ । यस्तो सञ्चिति १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
- चालु खाता रु.२३७ अर्ब ५९ करोड र शोधनान्तर रु.२६४ अर्ब ३ करोड बचतमा रहेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.४ प्रतिशतले र अमेरिकी डलरमा २९.२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोज महिनाको विप्रेषण आप्रवाह रु.२०१ अर्ब २२ करोड रहेको छ ।
- निर्यात ८९.६ प्रतिशतले र आयात १९.८ प्रतिशतले बढेकोछ ।
- नेपाल सरकारको खर्च रु.३६४ अर्ब ५९ करोड र राजस्व परिचालन रु.२४९ अर्ब ५ करोड रहेको छ ।
- विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.२ प्रतिशतलेबढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.५८ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.९१ प्रतिशत रहेको छ ।
- वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ३.८५ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.५० प्रतिशत रहेको छ ।
Advertisment