काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेस गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमका बीच गभर्नर पौडेलले उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ । दोस्रो खण्डमा बैंकका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीय विवरणलाई प्रस्तुत गरिएको छ । वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका विवरणलाई समेटिएको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ÷हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई रु ८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ।
राष्ट्र बैंक सञ्चालक समितिको कात्तिक २८ को बैठकले बैंकका विभिन्न कोषहरूमा छुट्ट्याउनुपर्ने आवश्यक रकम विनियोजन गरी बाँकी रकम रु.४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
गत असार मसान्तको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई रु.२६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ मा बैंकले वासलात, आय व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकारसमक्ष उक्त प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।
साथै, ऐनको दफा ९३(१) मा बैंकको लेखापरीक्षण, बैंकका कामकारबाही र आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
Advertisment