Below Menu
Below Menu

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रथम त्रैमासिक कार्य प्रगति सार्वजनिक

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रथम त्रैमासिक कार्य प्रगति सार्वजनिक

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक (साउन १ देखि असोज मसान्त २०८२ सम्म) को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। आम उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षा कायम राख्न विभागले यस अवधिमा निरीक्षण, अनुगमन, प्रयोगशाला विश्लेषण र नियमनका कार्यहरूलाई तीव्रता दिएको छ।

बजार निरीक्षण र प्रतिकूल नमुनाः ११ मुद्दा दर्ता

विभागका अनुसार प्रथम त्रैमासिकमा खाद्य उद्योग तथा बजार अनुगमनबाट ५६६ वटा नमुना संकलन गरी विश्लेषण गरिएको थियो । विश्लेषण गरिएका ३३२ नमुनामध्ये ११ वटा (३.३१ प्रतिशत) नमुना खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत प्रतिकूल पाइएको जनाइएको छ।

यसमा खाद्यान्न÷दलहनका ५ वटा, प्रशोधित पिउने पानीका ४ वटा, दूध तथा दुग्ध पदार्थको १ वटा र तेल तथा घ्यूजग्य पदार्थको १ वटा नमुना समावेश छन्।

न्यूनस्तर तथा दूषित उत्पादन र बिक्री वितरण गरेको कसूरमा जम्मा १७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएका छन्। यसमध्ये १५ वटा न्यून गुणस्तर र २ वटा लेबल सम्बन्धी मुद्दाहरू छन्।

मोबाइल प्रयोगशाला र अनुगमन

विभाग र मातहतका कार्यालयहरूबाट सञ्चालित ४ वटा मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी दूध, तेल, प्रशोधित पिउने पानी, घ्यू लगायतका खाद्य पदार्थहरूको स्थलगत प्रारम्भिक चेकजाँच गरिएको थियो । चाडपर्व लक्षित अनुगमनमा होटल, रेस्टुरेन्टहरूको निरीक्षण, दुध र खुवाका नमुना संकलन तथा तेलको स्थलगत परीक्षण गरिएको थियो।

यस अवधिमा म्याद गुज्रिएका, लेबल नगरिएका र ऐन विपरीतका ११ लाख ५६ हजार २०६ रुपैयाँ (११,५६,२०६) बराबरका खाद्य पदार्थहरू (मिठाई, पेय पदार्थ, मसला, खाद्यान्न आदि) जफत तथा नष्ट गरिएको उल्लेख छ।

नियमन र इजाजत

प्रतिवेदन अनुसार खाद्य÷दाना उद्योग, होटल, रेस्टुरेन्ट, राजमार्गका होटल अनुगमन तथा उजुरीमाथि तत्काल सम्बोधन टोली ९च्बउष्म च्भकउयलकभ त्भबm० मार्फत कारबाहीसहित जम्मा २,९१८ पटक निरीक्षण अनुगमन गरिएको छ।

विभागले यस अवधिमा ७८९ वटा उद्योगहरूलाई नियमन गरेको छ। यसमा २६० वटा नयाँ उद्योगको अनुज्ञापत्र जारी, १८१ वटा नवीकरण तथा ३४८ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस समावेश छन्।

खाद्य आयात–निर्यात नियमन

प्रथम त्रैमासिक अवधिमा जम्मा ५,६४९ वटा खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरिएको छ। आवश्यक कागजात पूरा नभएका ५४ वटा कन्साइन्मेन्टको अनुमति भने अस्विकृत गरिएको थियो। १२ वटा नाकाका कार्यालयहरूमा १४,५५९ वटा नमुना प्राप्त भई जाँच विश्लेषण गरिएकोमा १६ वटा नमुना प्रतिकूल पाइएका छन्।

१२ वटा आयात निर्यात कार्यालय र ८ वटा आन्तरिक बजार कार्यालयहरूबाट ताजा तरकारी तथा फलफूलको १७,८३४ वटा नमुनाको द्रुत विषादी अवशेष परीक्षण गरिएकोमा २ वटा नमुना प्रतिकूल भेटिएको प्रतिवेदनमा उल्लेख छ । 

छुर्पी, अचार, चाउचाउ, फ्रुट जुस लगायत करिब ६२,६८२.९४ अमेरिकी डलर बराबरको ४३,८७९.७ केजी खाद्य पदार्थ यूएई, कुवेत, यूएसए र साउदी अरब जस्ता देशहरूमा निर्यातका लागि सहजीकरण गरिएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र दाना पदार्थ ऐन, २०३३ को प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।

Advertisment