Below Menu
Below Menu

माग संकुचनको असर: बैंकिङ प्रणालीमा थुप्रियो ७५ खर्ब निक्षेप, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा 

माग संकुचनको असर: बैंकिङ प्रणालीमा थुप्रियो ७५ खर्ब निक्षेप, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७५ खर्ब दुई अर्ब रुपैयाँ पुगेको हो । 

गत कात्तिक २९ गतेका दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप दुई अर्बले घटेको छ । अघिल्लो दिन अर्थात् कात्तिक २८ गते शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थामा ७५ खर्ब चार अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा दुई अर्ब रुपैयाँ निक्षेप घटेको हो । अन्य वित्तीय क्षेत्रको निक्षेप भने ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको रहेको छ । अघिल्लो दिनसम्म ६६ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा बढेर ६७ खर्ब एक अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा दुई अर्ब निक्षेप घट्दा एक अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५६ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ५० खर्ब ७० अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो दुवै घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडि रेसियो ७४.३१ बिन्दुमा झरेको छ । 

Advertisment

थप समाचार