नौ वाणिज्य बैंकहरूद्वारा लाभांश घोषणा: अधिकांशको बुक क्लोजको मिति तय, कुनले कति दिए ? 

नौ वाणिज्य बैंकहरूद्वारा लाभांश घोषणा: अधिकांशको बुक क्लोजको मिति तय, कुनले कति दिए ? 

काठमाडौं : हालसम्म नौ वाणिज्य बैंकहरुले शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका कतिपय बैंकहरुले बुक क्लोज समेत गरिसकेका छन् ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंक लिमिटेडले यस वर्ष आठ प्रतिशत लाभांश दिने गरेको छ । भदौं २३ गते शुक्रबार बसेको बैंकको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश पािरत गर्न बैंकले असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा बिहान ११ बजे २७ औँ वार्षिक साधारण सभा बोलाएको थियो । 

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरीसकेको छ । 

यस्तै, सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने गरेको छ। जसअनुसार भदौ २६ गतेसम्म कायम शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट शेयधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्न बैंकले आगामी कात्तिक १२ गते बुधबार, काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा ३१ औं वार्षिक साधारण सभा आयोजना गरेको थियो । ।

बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गरेको छ । जसअनुसार असोज २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् । 

सानिमा बैंक 

सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ७.३६८५ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्न सानिमा बैंकले कात्तिक २ गते, आइतबार, आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे २१ औँ वार्षिक साधारण सभा बोलाएको थियो ।

सभाले हाल कायम चुक्ता पूँजीको  ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । 

यस्तै, सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले दुई अर्ब रुपैयाँबराबरको ‘८.२५ प्रतिशत सानिमा अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २७ गते एक दिनका लागि बुकक्लोज गरेको छ । जसअनुसार भदौ २६ गतेसम्म कायम शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेशनलले लाभांश घोषणा गरेको छ । असोज १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश गर्न बैंकले मंसिर १२ गते, शुक्रबार, १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ । 

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गरिसकेको छ । जसअनुसार कात्तिक १६ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ५.५३ प्रतिशतका दरले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न बैंकले कात्तिक ३० गते, आइतबार, २४ औं वार्षिक साधारण सभा बोलाएको थियो । उक्त सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा भएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकको १९ औँ वार्षिक साधारणसभा कात्तिक २६ गते बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।  

बैंकले आर्थिक वर्ष २०८१/८२ मा रु ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा रु ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो। 
साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

साथै, बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे।  

साधारण सभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधिहरु, शेयरधनी, संस्थागत शेयरधनीका प्रतिनिधिहरु, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधिहरु, कर्मचारीहरु समेतको उपस्थिति थियो। 

लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो । जस अनुसार कात्तिक १५ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । 

कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यसका साथै उक्त बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।


 

थप समाचार