काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा सवा १६ अर्ब रुपैयाँ बराबरको स्मार्ट फोन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म १६ अर्ब १५ करोड १८ लाख रुपैयाँ बराबरको ९ लाख ४३ हजार ८२६ थान स्मार्ट फोन आयात भएको हो ।
गत आर्थिक वर्षको तुलनामा स्मार्ट फोनको आयात २०.४९ प्रतिशत अर्थात दुई करोड ७४ लाख ७० हजार रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ४० करोड ४८ लाख रुपैयाँ बराबरको आठ लाख २७ हजार ९२५ थान स्मार्ट फोन आयात भएको थियो ।
विभागका अनुसार कात्तिकमा मात्रै एक लाख ३८ हजार ९६६ थान स्मार्ट फोन आयात भएका छन् ।
९२ अर्बको पेट्रोलियम पदार्थ आयात
विभागका अनुसार कात्तिक मसान्तसम्म कुल आयातको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । यस अवधिमा ९२ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।
चार महिनामा छ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । जमध्ये १५.१६ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । गत आवको तुलनामा आयात १८.७१ प्रतिशतले बढेको छ ।
त्यस्तै ५७ अर्ब ८८ करोड ८८ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, ५० अर्ब १७ करोड ६ लाख रुपैयाँ बराबरको तेल तथा घ्युजन्य वस्तु आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
चार महिनामा ३७ अर्ब ६९ करोड ५ लाख रुपैयाँको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । यसका साथै ४३ अर्ब ३८ करोड २ लाख रुपैयाँको विद्युतीय उपकरण, ४० अर्ब ५९ करोड २६ लाख रुपैयाँको बोइलर मेसिन, । २४ अर्ब ४१ करोड ७३ लाख रुपैयाँको मोती, पत्थरजन्य वस्तु आयात भएको छ ।
त्यस्तै १५ अर्ब ७४ करोड १४ लाख रुपैयाँ बराबरको खाद्यान्न, २१ अर्ब ८९ करोड ३५ लाख रुपैयाँको प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु र२२ अर्ब २३ करोड २९ लाख रुपैयाँको फलफूल र तरकारी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
Advertisment