काठमाडौं : नेपाल राष्ट्र बैंकले रु १००० दरका ४३ करोड थान नयाँ बैंक नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन बेइजिङ, चीनसँग करार सम्झौता गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक खरिद (चौधौँं संशोधन, २०८२) नियमावली, २०६४ तथा नोट छपाई तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ बमोजिम मंसिर ११ गते उक्त सम्झौता गरेको हो।
नयाँ बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि गत भदौं १० गते बोलपत्र आह्वान गरिएको थियो । राष्ट्रिय दैनिक पत्रिका ‘द राइजिङ नेपाल’ मा सूचना प्रकाशन गरी आह्वान गरिएको बोलपत्रमा रीतपूर्वक पेश भएका बोलपत्रहरूमध्ये चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन को बोलपत्र न्यूनतम मूल्याङ्कित र सारभूत रुपमा प्रभावग्राही ठहरिएपछि उक्त कम्पनीलाई नोट छपाईको जिम्मा दिइएको हो।
नोट छपाइका लागि चिनियाँ कम्पनीलाई कुल एक करोड ६९ लाख ८५ हजार अमेरिकी डलर भुक्तानी गर्ने सहमति भएको राष्ट्र बैंकले जनाएको छ । डा. विश्वनाथ पौडेल गभर्नर बनेपछि राष्ट्र बैंकले पहिलो पटक एक हजार दरका नोट छाप्न लागेको हो । उक्त नोटमा गभर्नर पौडेलको हस्ताक्षर रहनेछ ।
यसअघि पनि उक्त चिनियाँ कम्पनीले नेपालका रु ५, रु १०, रु १००, र रु ५०० दरका बैंकनोटहरू छपाई गरिसकेको छ।
Advertisment