Below Menu
Below Menu

चार रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्योः परामर्शदाताको आर्थिक प्रस्ताव मंसिर २१ गते खोलिने

चार रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्योः परामर्शदाताको आर्थिक प्रस्ताव मंसिर २१ गते खोलिने

काठमाडौं : अर्थ मन्त्रालयले लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका चार सार्वजनिक उद्योगलाई निजीकरण गर्ने प्रक्रियालाई थप तीव्रता दिएको छ । यी उद्योगहरूको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्नका लागि छनोट भएका परामर्शदाता कम्पनीहरूको आर्थिक प्रस्ताव आगामी मंसिर २१ गते खोल्ने तयारी गरिएको छ ।

निजीकरणको तयारी गरिएका चार उद्योगहरूमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट म्याग्नेसाइट रहेका छन् । अर्थ मन्त्रालयले गत साउनमा आह्वान गरेको टेन्डरबाट चारै उद्योगको डीडीएका लागि परामर्शदाता कम्पनीहरूको प्राविधिक प्रस्ताव मूल्याङ्कन गरिसकेको छ ।

प्राप्त प्रस्तावहरूमध्ये ६ वटा कम्पनी प्राविधिक प्रस्तावमा सफल भएका छन्। यीमध्ये नेपाल मेटल कम्पनी र जनकपुर चुरोट कारखानाका लागि दुई–दुई कम्पनी छनोट भएका छन् । 
यसअघि साउनमा जनकपुर चुरोट कारखानाका लागि ८, नेपाल ओरियण्ड म्याग्नेसाइटका लागि ११, बुटवल धागो कारखानाका लागि १२ र नेपाल मेटल कम्पनीका लागि ११ वटा कन्सल्टिङ कम्पनीलाई सर्टलिष्ट गरिएको थियो । 

अर्थ मन्त्रालयद्वारा जारी सूचनाअनुसार, छनोट भएका कम्पनीहरूले पेस गरेको आर्थिक प्रस्ताव मंसिर २१ गते खोलिने छ । आर्थिक प्रस्तावमा सफल हुने कम्पनीले ती उद्योगहरूको सम्पत्ति तथा दायित्वको विस्तृत मूल्याङ्कन गर्नेछन् । 

यसका साथै डीडीए रिपोर्ट प्राप्त भएपछि सोही मूल्याङ्कनलाई आधार मानेर इच्छुक निजी क्षेत्रलाई टेन्डर आह्वान गरी यी रुग्ण उद्योगहरूको निजीकरणको औपचारिक प्रक्रिया सुरु गरिने योजना रहेको अर्थमन्त्रालयले जनाएको छ । 

Advertisment

थप समाचार