Below Menu
Below Menu

सरकारको सुशासन प्रयास र मौद्रिक सहजताले अर्थतन्त्र सुधारको बाटोमाः राष्ट्र बैंक 

सरकारको सुशासन प्रयास र मौद्रिक सहजताले अर्थतन्त्र सुधारको बाटोमाः राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक सहजताबाट अर्थतन्त्र क्रमशः सुदृढ हुँदै जाने बताएको छ । राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

जेन–जी आन्दोलनपश्चात् बनेको सरकारले सुशासन सुदृढ गर्दै व्यावसायिक वातावरण अनुकूल बनाउन गरेका नीतिगत प्रयास र यस बैंकले अवलम्बन गरेको मौद्रिक सहजताबाट अर्थतन्त्रक्रमशः सुदृढ हुँदै जाने अनुमान रहेको राष्ट्र बैंकले जनाएको छ । 

अन्तर्राष्ट्रिय साख रेटिङ एजेन्सी फिच ग्रुवले हालै सम्पन्न गरेकोनेपालको सार्वभौम साख रेटिबमा गत वर्षकै रेटिब (बिबि माइनस) लाई निरन्तरता दिएको छ ।

आन्दोलनको क्रममा केही होटलहरूमा क्षति भए पनि नेपालको शान्ति सुरक्षामा पर्यटक आश्वस्त देखिएकोले बाह्य पर्यटक आगमन बढेको राष्ट्र बैंकले जनाएको छ । 

नेपाल पर्यटन बोर्डबाट प्राप्त विवरणअनुसार सन् २०२४ को दस महिनामा ९ लाख ४१ हजार बाह्य पर्यटक भित्रिएकोमा सन् २०२५ को सोहीअवधिमा करिव ९ लाख ४४ हजार बाह्य पर्यटक भित्रिएका छन् । 

यस अवधिमा जलविद्युत् उत्पादनमा प्रगति भई आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा थप ३०९.२ मेगावाट जलविद्युत्राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

सरकारले चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चतर्फ मूलतः तयारी नपुगेका र साना आयोजनाहरू कटौती गरी राष्ट्रिय प्राथमिकताप्राप्त र सम्पन्न हुने चरणमा रहेका आयोजनाहरूको कार्यान्वयन एवम् क्षतिको पुनर्निर्माणमा प्राथमिकता दिएकोले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ । 

यसको बाबजुद धानलगायत वर्षेवाली लगाउने समयमा मनसुन ढिलो सुरु भएको र त्यसको केही अन्तरालमा भारी वर्षा भएको कारण बाढी/पहिरोले कृषि लगायतका क्षेत्रहरू प्रभावित भएका छन् । समग्रमा चालु आर्थिक वर्षको आर्थिक वृद्धि लक्ष्यभन्दा केही कम रहने प्रारम्भिक अनुमान छ ।

पछिल्ला महिनाहरूमा भारतमा उपभोक्ता मुद्रास्फीति लक्ष्यभन्दा न्यूनस्तरमा रहँदै आएको छ । आर्थिक वर्ष २०२५/२६ मा भारतको मुद्रास्फीति २.६ प्रतिशतमा सीमित हुने भारतीय रिजर्भ बैंकको प्रक्षेपण छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा थप सहजता आउने प्रक्षेपण छ । आन्तरिक उत्पादनतर्फ धानलगायत वर्षेवालीको उत्पादन केही कम हुनुको साथै आगामी निर्वाचनमा हुने खर्चले मुद्रास्फीतिमा केही चाप पार्ने देखिन्छ । फलस्वरूप आर्थिक वर्ष ०८२/८३ मा औसत उपभोक्ता मुद्रास्फीति ४.० प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या क्रमिक रूपमा बढ्दै गएको छ । आयातको तुलनामा विप्रेषण आप्रवाहको विद्यमान प्रवृत्ति कायम रहेमा चालु आर्थिक वर्षको बाँकी अवधिमा समेत विदेशी विनिमय सञ्चिति सुविधाजनक स्तरमै रहने अनुमान छ ।

बैंकिङ क्षेत्रमा अधिक तरलता र न्यून ब्याजदरको अवस्था कायमै रहेकोछ । निक्षेप तथा कर्जाका भारित औसत ब्याजदर निरन्तर घट्दै गएका छन्। तथापि, निक्षेपको भारित औसत वास्तविक ब्याजदर भने धनात्मक नै रहेकोछ । 

बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात बढ्दै गए तापनि औसत पुँजी पर्याप्तता अनुपात तोकिएको न्यूनतम सीमाभन्दा बढी रहेको छ ।

मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको पछिल्लो अवस्था र वित्तीय क्षेत्रलगायत अर्थतन्त्रको उपर्युक्त परिदृश्यको आधारमा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिईएको राष्ट्र बैंकले जनाएको छ । 
 

Advertisment

थप समाचार