काठमाडौं : नेपाल बीमा प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बीमकहरूलाई निर्देशन दिँदै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण प्रक्रियामा कडाइ गरेको छ। बीमा अभिकर्ताहरूको कार्यक्षमता र उत्तरदायित्वलाई थप मजबुत बनाउने प्राधिकरणले नयाँ व्यवस्था ल्याएको हो ।
प्राधिकरणको मंसिर १५ गतेको बैठकले जारी गरेको नयाँ निर्देशनअनुसार, अब बीमा अभिकर्ताले लाइसेन्स नवीकरण गर्नका लागि कम्तीमा एक प्रतिशत बीमालेख नवीकरण गरेको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
यो प्रावधान जीवन बीमा अभिकर्ताहरूको हकमा बीमा नियमावली, २०८१ को नियम ४३ को उपनियम (१) को खण्ड (ख) बमोजिम लागू गरिएको हो।
नयाँ निर्देशनअनुसार बीमा अभिकर्ताले आफ्नो व्यक्तिगत विवरण (केवाइसी) लाई आइआरएमआइएस प्रणालीमा स्पष्ट र बुझिने कागजातहरू अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ।
इजाजतपत्र नवीकरणका लागि बीमा नियमावलीको अनुसूची ७ अनुसार नवीकरण दस्तुर एक हजार र नियमन दस्तुर ५०० गरी जम्मा एक हजार ५०० रुपैयाँ लाग्ने प्रावधान गरिएको छ।
यदि कुनै अभिकर्ताले इजाजतपत्रको अवधिभित्र नवीकरण गर्न सकेन भने, उनीहरूका लागि म्याद थपको विशेष व्यवस्था गरिएको छ ।
बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा २ अनुसार, इजाजतपत्रको म्याद सकिएको तीन महिनाभित्र विलम्ब शुल्क रु। १,०००र( तिरेर नवीकरणका लागि निवेदन दिन सकिनेछ।
यद्यपि, ऐनको दफा ९५ अनुसार, इजाजतपत्रको म्याद सकिएको तीन महिनाभित्र पनि नवीकरणका लागि निवेदन पेस नगरिएमा त्यस्ता बीमा अभिकर्ताको इजाजतपत्र स्वतः खारेज हुने प्रावधान छ।

Advertisment