Below Menu
Below Menu

सार्वजनिक संस्थान र निकायमा सरकारकाे लगानी नौ खर्ब ३० अर्ब, भाखा नाघेको रकम चार खर्ब नाघ्यो

सार्वजनिक संस्थान र निकायमा सरकारकाे लगानी नौ खर्ब ३० अर्ब, भाखा नाघेको रकम चार खर्ब नाघ्यो

काठमाडौं : सार्वजनिक संस्थान तथा निकायहरूमा सरकारको कुल लगानी सवा नौ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारको १५९ वटा सार्वजनिक संस्थान तथा निकायहरुमा शेयर तथा ऋण लगानी नौ खर्ब ३० अर्ब ८८ करोड ४ लाख ६८ हजार लगानी रहेको छ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारको कुल शेयर लगानी ११६ संस्थानमा चार खर्ब ४ अर्ब ८१ करोड ४१ लाख ५८ हजार रहेको छ। सबै भन्दा बढी शेयर लगानी रहेका संस्थाहरु क्रमशः नेपाल विधुत प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैक र कृषि विकास बैंक रहेका छन् ।

गत वर्षसम्ममा नेपाल सरकारको कुल ऋण लगानी पाँच खर्ब २६ अर्ब ६ करोड ६३ लाख १० हजार रहेको छ। जसमध्ये आन्तरिक स्रोतबाट एक खर्ब ५८ अर्ब १८ करोड २१ लाख ८४ हजार र वैदेशिक स्रोतबाट तीन खर्ब ६७ अर्व ८८ करोड ४१ लाख २६ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । 

आर्थिक वर्ष २०८०/८१ सम्ममा बढी ऋण लगानी भएका संस्थानहरुमा नेपाल विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल खानेपानी संस्थान रहेका छन् ।

गत वर्षमा सरकारले साँवा फिर्तातर्फ दुई अर्ब ६२ करोड २९ लाख ९४ हजार ६९५ रुपैया र व्याज असुलीतर्फ ५ अर्ब २९ करोड ४ लाख ३० हजार ३५६ रुपैयाँ प्राप्त भएको कार्यालयले जनाएको छ । 

सरकारको शेयर लगानीतर्फ पाँच अर्ब ५२ करोड ६ लाख ३४ हजार ५४९ रुपैयाँ र ऋण लगानीतर्फ ३५ अर्ब ९५ करोड ९७ लाख ८७ हजार ६९८ रुपैया गरी जम्मा ४१ अर्ब ४८ करोड ४ लाख २२ हजार २४७ रुपैयाँ लगानी भएको प्रतिवेदनमा देखिएको छ ।

प्रतिवेदन अनुसार गत वर्षसम्ममा भाखा नाघेको साँवा दुई खर्ब ५९ अर्ब १९ करोड ९७ लाख ३ हजार १२६ रुपैयाँ र भाखा नाघेको व्याज एक खर्ब ४० अर्ब ८८ करोड २३ लाख ९६ हजार १६९ रुपैयाँ गरी कुल भाखा नाघेको रकम चार खर्ब ८ करोड २० लाख ९९ हजार २९५ रुपैयाँ रहेको छ ।

त्यसैगरी भाखा नाघेको साँवा व्याज बढी भएका सार्वजनिक संस्थानहरुमा नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरण आदि रहेका छन ।

Advertisment

थप समाचार