Below Menu
Below Menu

नाफिजको साधारणसभा तथा पुरस्कार वितरण समारोह सम्पन्न

नाफिजको साधारणसभा तथा पुरस्कार वितरण समारोह सम्पन्न

काठमाडौं : क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार काठमाडौंमा नाफिजकी अध्यक्ष मेनुका कार्कीको अध्यक्षतामा र अर्थमन्त्री रामेश्वर खनालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा नाफिजको वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन पनि गरिएको छ । जसमा सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव र हालैको जेन् जी आन्दोलनको प्रभाव पश्चात अर्थतन्त्रको अवस्था तथा लगानी सुरक्षाको आवश्यकताबारे उल्लेख गरिएको छ ।

सभामा नाफिजकी अध्यक्ष मेनुका कार्कीले अर्थतन्त्र चलायमान बनाउन सरकारको पुँजीगत खर्च वृद्धि गर्न र पूर्वाधारमा गरिएको लगानीको प्रतिफलमा विशेष चासो दिनुपर्ने सुझाव दिइन् ।

नाफिजले साधारण् सभामा तीन जना आर्थिक पत्रकारहरु पुरस्कृतसमेत भएका छन् । एक लाख राशीको ‘शारदा–ढुन्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’बाट क्लकमाण्डुकर्मी रविन पौडेल पुरस्कृत भएका छन् । क्यापटिल नेपालमा कार्यरत कमला भण्डारीले ५० हजार रुपैयाँ राशीको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ पाएकी छिन् । ५० हजार रुपैयाँ राशीकै ‘सिबिफिन–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’बाट टक्सारकर्मी अम्बिका शर्मा पुरस्कृत भएकी छिन् ।

यसका साथै श्रवणकुमार अग्रवाल–नाफिज फेलोसिप नयाँ पत्रिका दैनिकका यम बमले प्राप्त गरेका छन् ।  

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले जेन् जी आन्दोलनको मुख्य मुद्दा आर्थिक समृद्धि भएको बताउँदै यसका लागि आन्दोलनमा उत्रिएका युवाहरुले भ्रष्टाचारको अत्य र सुशासनको ग्यारेन्टी खोजेको बताए ।

त्यस्तै, उनले निजी क्षेत्रमाथीको आक्रमण राम्रो नभएको टिप्पणी गरे । कार्यक्रममा बोल्दै उनले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क्षेत्रले निश्चित समय पछि छोड्ने नै हो । उनीहरुमाथीको आक्रमण ठिक होइन । निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनुपर्छ ।’  

निर्वाचन अपरिहार्य रहेको भन्दै अर्थमन्त्री खनालले थपे, ‘कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चियको दिशामा लैजानु हो । यसको अनेक कृयाकलापहरुमा असर गर्छ । कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ । यसका लागि सकारत्मक महोल हुनुपर्छ । यसका लागि सरकार पनि लागि परेको छ ।’

सबै दलहरुको सहमति र आम नागरिको सहमतिमा समयमा निर्वाचन गराइने उनले बताए । सुरक्षित, भयरहित र निष्पक्ष भएर अन्तराष्ट्रिय जगतमा पनि लोकतानित्रक अभ्यासमा गएर निर्वाचन समयमै गरेको छबी बनाउनुपर्ने उनको भनाई छ । अन्तराष्ट्रिय जगले राम्रो मूल्यांकन गरिरहेकाले सरकारले आगामी दिनमा सुधारका काम बढाउँदै लैजानुपर्ने उनले बताएका छन् ।

Advertisment

थप समाचार