काठमाडौं : बजारमा मागको संकुचनले लामो समयदेखि अधिक तरलताको समस्या भाेगिरहेका बैंक तथा वित्तीय संस्थाहरु थप मारमा परेका छन् ।
गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा थप देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको नाफामा भारी गिरावट देखिएको हो ।
एकातिर कर्जाको माग नबढ्नु र अर्कोतर्फ लगानीको रकम समयमा नउठ्दा बैंक तथा वित्तीय संस्थाहरु थप ग्रसित बनेका छन् ।
चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाले झण्डै सवा २१ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले २१ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा तीन अर्ब ६७ करोड रुपैयाँले कम हो । गत वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको नाफा २४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको नाफा १९ अर्ब ३७ करोड ५४ लाख, विकास बैंकहरुको नाफा एक अर्ब ७७ करोड र फाइनान्सहरुको नाफा १७ करोड रुपैयाँ रहेको छ ।
१३ प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफा
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले कात्तिक मसान्तसम्म १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा दुई अर्ब ९२ करोड ३२ लाख रुपैयाँले कम हो । गत वर्षको सोही अवधिमा बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ । चालु आवको कात्तिक मसान्तसम्म बैंकले दुई अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको हो ।
त्यस्तै यस अवधिमा नबिल बैंक दुई अर्ब ४६ करोड ७१ लाख नाफा कमाएको छ भने नेपाल बैंकले ८० करोड ९८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब १३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगाले ६३ करोड नौ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।
राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म हिमालयन बैंकले ८२ करोड ३२ लाख, नेपाल एसबीआई बैंकले ६७ करोड २० लाख रुपैयाँ र एभरेष्ट बैंकले एक अर्ब ५१ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यसैगरी एनआईसी एशियाले ३४ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ भने माछापुच्छ्रे बैंकले ६० करोड ९९ लाख रुपैयाँ र कुमारी बैंकले एक अर्ब १८ करोड दुई लाख रुपैयाँ नाफा कमाएको छ ।
चालु आवको चार महिनामा लक्ष्मी सनराइज बैंकले ६२ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ भने सिद्धार्थ बैंकले ६६ करोड २७ लाख रुपैयाँ र कृषि विकास बैंकले सात करोड ४९ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा सिटिजन्स इन्टरनेशनल बैंकले एक करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ भने प्राइम कमर्सियल बैंकले एक अर्ब ५८ करोड ६० लाख र एनएमबी बैंकले एक अर्ब २७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म प्रभु बैंकले ७३ करोड ७७ लाख र सानिमा बैंकले ७७ करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
Advertisment