काठमाडौं : हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूमध्ये आठ वटा कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को लागि नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।
कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्याङ्कनको आधारमा बीमितहरूलाई प्रदान गरिने पोलिसी बोनस दर घोषणा गरेका हुन् ।
बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि जारी गरिएको यो बोनसदर कम्पनीहरूले सञ्चालनमा ल्याएका तथा मुनाफामा सरिक हुने विभिन्न बीमालेखहरूमा प्रतिहजार बीमाङ्कका दरले लागु हुनेछ ।
बोनसदर सार्वजनिक गर्ने कम्पनीहरू नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, सूर्यज्योति, सिटिजन लाइफ इन्स्योरेन्स आइएमई लाइफ इन्स्योरेन्स सानिमा रिलायन्स, मेट लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।
कम्पनीहरूले घोषणा गरेको यो बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेख मा समेत लागु हुनेछ । बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्मका लागि यही बोनसदर कायम रहने कम्पनीहरूले जनाएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स
इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट मंसिर २३ गते स्वीकृत भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो । नयाँ बोनस दर अनुसार न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म निर्धारण गरेको छ ।
सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) बीमालेख योजनामा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम प्रतिहजार ८२ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ ।
कम्पनीले सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटि जीवन बीमा) योजनामा न्युनतम प्रतिहजार ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनसदर प्रदान गर्नेछ ।
नयाँ बोनसदर अनुसार सावधिक जीवन (जीवन समुन्नत) बीमालेख योजनामा न्युनतम प्रतिहजार ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म रुपैयाँ बोनस दर कायम गरिएको छ ।
त्यस्तै कम्पनीले सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना) विकल्प एक तथा विकल्प दुईमा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँ बोनस दर प्रदान गर्नेछ ।
सावधिक जीवन बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना एकल बीमाशुल्क योजनामा न्युनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकतम ६० हजार रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।
सावधिक जीवन बीमालेख केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना र सावधिक जीवन बीमालेख केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना एकल बीमाशुल्कमा प्रतिहजार ६० रुपैयाँदेखि ६२ रुपैयाँ बोनस दर कायम गरिएको छ ।
सावधिक तथा आजीवन (जीवन साहारा, अनमोल जीवन) बीमा योजनामा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ८२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि) बीमा योजनाको १५ र २० वर्षे अवधिको प्रतिहजार ५६ रुपैयाँ बोनस दर तोकेको छ । अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) र अग्रिम भुक्तानी सावधिक जीवन बीमा (नौलो जीवन समृद्धि) बीमा योजनामा सबै अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ बोनस दर तोकेको छ ।
नयाँ बोनसदर अनुसार कम्पनीले अन्य (जीवन सारथी) बीमा योजनामा कम्पनीले न्युनतम प्रतिहजार ६२ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
सानिमा रिलायन्स लाइफ
इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको छ । उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो ।
सार्वजनिक बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा योजना (रेगुलर) मा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म र सावधिक जीवन बीमा (एकल) योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
त्यस्तै त्रिपल सावधिक बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म र सावधिक तथा आजिवन योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर रहेको छ ।
कम्पनीले वार्षिक अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि २१ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यस्तै मुद्दति सुरक्षण बीमा योजना–नियमित शुल्कमा सम्पूर्ण अवधिका लागि न्युनतम २४ रुपैयाँ र मुद्दति सुरक्षण बीमा योजना–एकल शुल्कमा न्युनतम ५४ रुपैयाँ बोनसदर रहेको छ ।
नयाँ बोनसदर अनुसार १५ वर्षे भुक्तानी योजनामा सम्पूर्ण अवधिका लागि न्युनतम ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामा ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ र सामुहिक सावधिक योजनामा २० रुपैयाँ बोनसदर कायम भएको छ ।
कम्पनीले सावधिक तथा आजिवन योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६० रुपैयाँसम्म, सावधिक योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनस दिने भएको छ ।
कम्पनीले सिमित भुक्तानी सावधिक योजनामा प्रतिहजार ४० रुपैयाँदेखि ६५ रुपैयाँसम्म र बाल सावधिक योजनामा न्युनतम प्रतिहजार २२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म र बाल सावधिकं अर्को बीमा योजनामा २० रुपैयाँदेखि ३४ रुपैयाँसम्म बोनस दिने भएको छ।
मेट लाइफ इन्स्योरेन्स
अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ) ले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
नयाँ बोनसदर अनुसार शिक्षा संरक्षण बीमा योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । त्यस्तै, सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीका अनुसार अग्रिम भुक्तानी–३पीपीपी योजनामा प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म र अग्रिम भुक्तानी–एमटीजी योजनामा प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
नयाँ बोनसदर अनुसार माइ चाइल्ड एजुकेशन प्रोटेक्सन प्लान योजनामा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ कायम गरिएको छ ।
नेशनल लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख योजनामा न्युनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दिने भएको ५ भने सावधिक तथा आजिवन बीमालेख योजनामा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म रूपैयाँ बोनसदर रहेको छ ।
त्यस्तै कम्पनीको अग्रिम भुक्तानी योजना सावधिक जीवन बीमालेख र बाल अमृत सावधिक जीवन बीमालेख र अग्रिम भुक्तानी आजिवन बीमालेख योजनामा न्युनतम प्रतिहजार ६० रुपैयाँ बोनस दर कायम गरिएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि वितरण गर्ने नयाँ बोनसदर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ बोनसदर अनुसार बीमितले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ प्रतिहजारसम्म बोनस पाउने छन् ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
नयाँ बोनसदर अनुसार कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँसम्म र सिटिजन शुभारम्भ योजना (सावधिक बीमालेख) मा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ।
त्यस्तै कम्पनीले सावधिक जीवन बीमालेख योजनामा प्रतिहजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख), सिटिजन बाल भविष्य योजना प्लस (सावधिक बीमलेख) मा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म बोनस दिने भएको छ ।
कम्पनीको सिटिजन जीवन सारथी योजना (सावधिक तथा आजीवन बीमालेख) योजनामा न्युनतम प्रतिहजार ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर कायम गरिएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि मुनाफामा सरिक हुने बीमालेखहरूमा न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
कम्पनीले सावधिक, सिमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा बीमा अवधि (वर्ष) अनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस (प्रति हजार) तोकेको छ ।
त्यसैगरी सामूहिक सावधिक बीमा योजनामा ३२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमा योजनामा ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
नयाँ बोनसदर अनु्सार अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँ कायभ गरिएको छ । त्यस्तै कम्पनीले बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
त्यसैगरी वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता र धन सरिता प्लस) बीमा योजनाका सबै बीमा अवधिका लागि समान २२ रुपैयाँ र वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म कम्पनीले बोनस दिने भएको छ ।
साथै बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्तामूल्य तथा चालू बीमालेखमा समेत लागू हुने र आगामी बीमांकीय मूल्यांकन नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सरिक हुने बीमालेखहरुमा २५ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
नयाँ बोनसदर अनुसार सनलाइफ सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस तोकिएको छ ।
यसैगरी बीमितले भाग्योदय जीवन बीमालेखमा ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म, बाल समृद्ध जीवन बीमालेखमा ३३ रुपैयाँदेखि ६० रुपैयाँसम्म, सावधिक सुनौलो जीवन बीमालेखमा ३६ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।
कम्पनीले सुनौलो बाल समृद्ध जीवन बीमालेखमा न्युनतम प्रतिहजार ३३ रुपैयाँदेखि ६० रुपैयाँसम्म, नवीन आजीवन जीवन बीमालेखमा ३८ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनस दिने भएको छ ।
त्यसैगरी कम्पनीले १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा ४० रुपैयाँ बोनस तोकिएको छ भने धनधान्य जीवन बीमालेख, धनलक्ष्मी जीवन बीमालेख, धनञ्जय जीवन बीमालेख र नव धनलक्ष्मी जीवन बीमालेख योजनामा समान प्रतिहजार २५ रुपैयाँ बोनस दिने भएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स
कम्पनीको स्वीकृत बिमाङ्किय मूल्यांकन अनुसार कम्पनीले गत आवको मुनाफाबाट सरिक बीमालेखहरुमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दिने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट मंसिर २५ गते स्वीकृत गरेको हो ।
नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
साथै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ, बार्षिक अग्रिम भुक्तानीमा न्यूनतम ३८ देखि ४७ रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस दिने भएको छ ।
कम्पनीले इजि पे अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
Advertisment