Below Menu
Below Menu

बैंकिङ तरलताको असर: वाणिज्य बैंकहरूको औसत ब्याजदर ४.८३ प्रतिशतमा झर्यो 

बैंकिङ तरलताको असर: वाणिज्य बैंकहरूको औसत ब्याजदर ४.८३ प्रतिशतमा झर्यो 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कात्तिक महिनाको तुलनामा १३ बैंकहरुको ब्याजदर घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १३ बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने सात बैंकहरुले ब्याजदर यथावत राखेका छन् ।

पुसका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ४.८३ प्रतिशत रहेको छ । मंसिरमा यस्तो ब्याजदर औषत ५.०५ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.२० बिन्दुले घटेको छ ।

त्यस्तै संस्थागतर्फ मंसिरका लागि ३.५८ प्रतिशत रहेका बैंकहरुको ब्याजदर घटेर ३.४४ प्रतिशत विन्दुमा झरेको छ । संस्थागत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.१३ प्रतिशत बिन्दुले घटेको हो । संस्थापक तर्फ पाँच वटा बैंकहरुको ब्याजदर घटेको छ भने १५ वटाको यथावत रहेको छ । 

व्यक्तिगततर्फको मुद्दतीको निक्षेपको ब्याजदर घटाउने बैंकहरु 

पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरुमा प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक, प्रभु, कृषि विकास बैंक, कुमारी, नेपाल एसबिआई, सानिमा, लक्ष्मी सनराइज, एभरेष्ट, नबिल, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । 

जसमध्ये ग्लोबल आईएमई, कुमारी नेपाल एसबिआई, लक्ष्मी सनराइज र नबिल बैंकको व्यक्तिगत र संस्थागत दुर्व तर्फको ब्याजदर घटेको हो । 

ब्याजदर यथावत राखेका बैंकहरु 

मंसिरका लागि लागि माछापुच्छ्रे, सिटिजन्स बैंक इन्टरनेशनल, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएबि र हिमालयन बैंकले मंसिर महिनाकै ब्याजदरलाई यथावत राखेका छन् । 

कुन बैंकले कति दिँदैछन् ब्याजदर 

राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, सिद्धार्थ, एनएमबी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनलले व्यक्तिगत मुद्दती निक्षेपमा ४.७५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याज दिने भएको छ भने माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याज दिने भएको छ । 

पुसका लागि ब्याजदर स्थिर राखेको हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ ।
नयाँ ब्याजदर अनुसार ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ३.७५ प्रतिशत ब्याज दिने भएको छ । नेपाल बैंकले व्यक्तिगत तर्फ ५.१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ । 

पुसका लागि प्रभु र कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५५ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएका छन् । 

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.६ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएको छ भने नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५५ प्रतिशत र संस्थागत तर्फ ३.५५ प्रतिशत ब्याज दिने भएको छ । 

प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ४.२५ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएको छ भने नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५५ प्रतिशत र संस्थागत तर्फ २.८ प्रतिशत ब्याज दिने भएको छ ।

प्रकाशित ब्याजदर अनुसार कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५३ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ भने सानिमा बैंकले मंसिरका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ४.७५ प्रतिशत र संस्थागत तर्फ ३.३ प्रतिशत ब्याज दिने भएको छ । 

लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती तर्फ ४.५५ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ भने एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.७५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र दीर्घ अवधिका मुद्दतीमा केही बढी ब्याजदर दिँदै आएका छन् । अधिकांश बैंकले पाँच वर्षभन्दा बढी अवधिका मुद्दती निक्षेपमा उच्चतम ब्याजदर प्रस्ताव गरेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेपछि बचत तथा संस्थागत मुद्दती निक्षेपका दर पनि क्रमशः घट्ने प्रवृत्ति रहँदै आएको छ । निक्षेप ब्याजदर घट्दा आधार दर पनि घट्ने भएकाले कर्जाको ब्याजदरमा समेत सीधा प्रभाव पर्नेछ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह सुस्त हुँदा ब्याजदर तल झरेको बैंकहरूले बताएका छन ।

यतिबेला राष्ट्र बैंकले दीर्घकालीन अवधिका लागि समेत तरलता व्यवस्थापनका क्रममा बैंकहरूबाट निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधा मार्फत रकम तानेको छ ।

हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत कायम छ । बैंकिङ क्षेत्रभित्र तरलता प्रशस्त भइरहेकाले निक्षेप तथा कर्जाको ब्याजदर अझै केही समय दबाबमा रहने विश्लेषण बैंक तथा वित्तीय क्षेत्रले गरेका छन् ।
 

Advertisment

थप समाचार