काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा विदेशी विनिमय सञ्चिति साढे ३० खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तमा ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा यस अवधिमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असारसम्ममा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा कात्तिकमसान्तमा १२.८ प्रतिशतले वृद्धि भई २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रहेकोमा कात्तिक मसान्तमा २५.८ प्रतिशतले वद्धि भई तीन खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५०.० प्रतिशत, १४४.९ प्रतिशत र ३७.८ प्रतिशत रहेका छन् । गत असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
यस्तो छ देशको आर्थिक स्थिति
- वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.११ प्रतिशत रहेको छ ।
- कुल विदेशी विनिमय सञ्चिति रु.३०५५ अर्ब ५२ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ । यस्तो सञ्चिति १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
- चालु खाता रु.२७९ अर्ब ६५ करोड र शोधनान्तर रु.३१८ अर्ब ४० करोड बचतमा रहेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३१.४ प्रतिशतले र अमेरिकी डलरमा २५.३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह रु.१३३ अर्ब ८२ करोड रहेको छ ।
- निर्यात ७७.५ प्रतिशतले र आयात १८.७ प्रतिशतले बढेको छ ।
- नेपाल सरकारको खर्च रु.४६८ अर्ब ८८ करोड र राजस्व परिचालन रु.३२६ अर्ब ५५ करोड रहेको छ ।
- विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.१ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.९ प्रतिशत रहेकोछ ।
- बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१– दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ ।
- वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.७४ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.३८ प्रतिशत रहेको छ ।
Advertisment