काठमाडौं : चालु खाता साढे दुई खर्ब रुपैयाँले बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
यस अवधिमा चालु खाता दुई खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा खुद पुँजीगत ट्रान्सफर छ अर्ब २१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ४७ करोड रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा दुई अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.५ अर्ब ७६ करोड रहेको थियो ।
कात्तिकसम्ममा शोधनान्तर स्थिति तीन खर्ब १८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।
Advertisment