Below Menu
Below Menu

ऋण असुलीमा गएका बैंक कर्मचारीमाथि आक्रमणः सिबिफिनले भन्यो-‘यो सरकारमाथिकै आक्रमण हो’ 

ऋण असुलीमा गएका बैंक कर्मचारीमाथि आक्रमणः सिबिफिनले भन्यो-‘यो सरकारमाथिकै आक्रमण हो’ 

काठमाडौं : सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि भएको लज्जास्पद, घृणित एवं पशुवत दुर्व्यवहार र हिंस्रक आक्रमणप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले घोर भर्त्सना गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार र सुरक्षा निकायसमक्ष जोडदार माग गरेको छ।

बैंकका कर्मचारीहरू लामो समयदेखि किस्ता नियमित हुन नसकेको कर्जाको समुचित समाधानका लागि स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुगेका थिए। सो क्रममा अर्धन्यायिक निकायको रुपमा रहेका स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरूको जत्थाले कर्मचारीहरूलाई नियोजित रुपमा घण्टौँसम्म कब्जामा लिई अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार गरेको र हिंस्रक आक्रमण गरेको सिबिफिनले जनाएको छ।

सिबिफिनले घटनालगत्तै स्थानीय सुरक्षा निकायको भूमिकाप्रति समेत कडा आपत्ति जनाएको छ । आपराधिक घटनालगत्तै जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पीडितको जाहेरीप्रति बेवास्ता गर्दै दर्ता नगरेको र उल्टै पीडित कर्मचारीहरूलाई मिलापत्रका लागि दबाब दिएको भन्दै सिबिफिनको भनाई छ  

सिबिफिनले यस्ता बर्बर घटनाले अर्थतन्त्रको आधारस्तम्भको रुपमा रहेका बैंक तथा वित्तीय संस्था र कर्तव्यनिष्ठ कर्मचारीहरूको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने भन्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। यस्तो निकृष्ट आक्रमण कर्मचारी र बैंकिङ क्षेत्रमाथिको मात्र नभई स्वयं नेपाल सरकारमाथिकै आक्रमण भएको सिबिफिनको ठहर छ । 

लाखौँलाख ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, अफवाह फैलाउने, आम जनतामा भ्रम सृजना गर्ने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने, वा आफ्नो कर्तव्यपालनमा असुरक्षित एवं असमर्थ बनाउनेलगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरुले प्रश्रय पाइरहेकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 

सिबिफिनले संघीय, प्रदेश, स्थानीय सरकार र गृह मन्त्रालयसहित जिम्मेवार सम्पूर्ण निकायहरूलाई प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन र बैंकिङ सेवालाई निर्वाध रुपमा संचालन हुने सुरक्षित वातावरण निर्माण गर्न अपिल गरेको छ । 

सिबिफिनले बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भएमा बैंकको माथिल्लो व्यवस्थापनसमक्ष वा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाईसमक्ष उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि कानून आफ्नै हातमा लिएर घटाइने यस प्रकारका निन्दनीय कार्यले समग्र मुलुककै भविष्य अन्धकारतर्फ धकेलिन सक्नेतर्फ संवेदनशील भइदिन सरोकारवाला सम्पूर्ण पक्षहरुमा हार्दिक अनुरोध गरेको छ।

Advertisment

थप समाचार