Below Menu
Below Menu

खर्च र आम्दानी दुवैमा सुस्तताः पाँच महिनामा समग्र बजेट खर्च २८ प्रतिशत, घाटा बजेटको चाप बढ्यो

खर्च र आम्दानी दुवैमा सुस्तताः पाँच महिनामा समग्र बजेट खर्च २८ प्रतिशत, घाटा बजेटको चाप बढ्यो

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारको विकास खर्च न्युन देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिरसम्ममा चालुतर्फ ३७.७ प्रतिशत, पुँजीगततर्फ ८.३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३५.३२ प्रतिशत बजेट खर्च भएको हो ।

चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड बजेट छुट्याएको सरकारले हालसम्म वार्षिक विनियोजनको ८ दशमलव ३ प्रतिशत अर्थात् ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ बराबर मात्रै खर्च गर्न सकेको कार्यालयले जनाएको छ ।

यस्तै, चालुगत शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा वार्षिक लक्ष्यको ३३ दशमलव ७ प्रतिशत अर्थात् तीन खर्ब ९८  अर्ब चार करोड ७२ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा हालसम्मको खर्च ३५ दशमलव ३२ प्रतिशत बराबर छ । यो शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड बराबर विनियोजन भएकामा मंसिर मसान्तसम्ममा एक खर्ब ३२ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ ।

यसरी चालु आर्थिक वर्षको उक्त अवधिसम्मको कुल बजेट खर्च २८ दशमलव ७४ प्रतिशत बराबर छ । यस वर्ष १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याइएकामा सुरुआती पाँच महिनामा पाँच खर्ब ६४ अर्ब ४६ करोड बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

खर्चको तुलनामा राजस्व सङ्कलन कम हुँदा यो अवधिमा घाटा बजेट साढे खर्ब रुपैयाँ रहेको छ । मंसिर मसान्तसम्ममा सरकारले चार खर्ब १४ अर्ब ९० करोड बराबर मात्रै राजस्व उठाएको छ । अर्थात् यो अवधिमा सरकारको आम्दानीभन्दा खर्च एक खर्ब ४९ अर्ब ८८ करोड रुपैयाँले बढी छ ।

चालु आवका लागि सरकारले कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । हालसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २७ दशमलव शुन्य छ प्रतिशत बराबर हो ।

यस्तै, चालु आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको नौ दशमलव ५८ प्रतिशत मात्रै लिइएको छ । मंसिर मसान्तसम्ममा पाँच अर्ब १२ करोड १० लाख बराबर वैदेशिक अनुदान भित्रिएको हो ।

कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँको वार्षिक लक्ष्य रहेकोमा हालसम्म २८ दशमलव ८३ प्रतिशत अर्थात् तीन खर्ब ८२ अर्ब २३ करोड १० लाख रुपैयाँ उठेको छ ।

यस्तै, गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड रुपैयाँ उठाउने वार्षिक लक्ष्य रहेकामा हालसम्म १५ दशमलव ५९ प्रतिशत अर्थात् २४ अर्ब सात करोड २७ लाख रुपैयाँ बराबर गैरकर राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

Advertisment

थप समाचार