काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी भएका गैर–व्यावसायिक र उच्छृङ्खल घटनाहरू प्रति नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले वित्तीय सेवालाई प्रभावित पार्ने कुनै पनि क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई कडा चेतावनी दिएको छ ।
नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त प्रयासबाट अहिले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको छ । यसबाट स्थानीयस्तरमा नै निक्षेप, कर्जा, विप्रेषण तथा सामाजिक सुरक्षा रकमजस्ता महत्त्वपूर्ण वित्तीय सेवाहरू प्राप्त गर्न सर्वसाधारणलाई सहज भएको छ ।
बैंक तथा वित्तीय संस्थाको मुख्य कार्य निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्नु, परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ । बैंकहरूले सर्वसाधारणको निक्षेपबाटै कर्जा प्रवाह गर्ने भएकाले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसकिने र तरलतामा प्रभाव पर्ने जोखिम राष्ट्र बैंकले औंल्याएको छ ।
राष्ट्र बैंकका अनुसार ऋणीहरूले लिएको कर्जाको भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ । कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा असहजता आएमा नेपाल राष्ट्र बैंकले समय–समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्थामार्फत सहजीकरण गर्दै आएको छ ।
बैंकिङ कारोबार सम्बन्धमा कुनै गुनासो वा मर्का परेको महसुस भएमा सम्बन्धित संस्था र नेपाल राष्ट्र बैंक मा समेत गुनासो सुनुवाइको व्यवस्था रहेको जनाइएको छ । यस माध्यमबाट समस्याको समाधान खोज्न सकिने स्पष्ट पारिएको छ ।
बैंक तथा वित्तीय संस्था र त्यसमा कार्यरत कर्मचारीहरू विरुद्ध भइरहेका उच्छृङ्खल गतिविधिहरूले वित्तीय साधन परिचालनमा कठिनाइ ल्याउने र वित्तीय सेवा प्रभावित हुने राष्ट्र बैंकको ठहर छ ।
राष्ट्र बैंकले गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधि मा संलग्न हुने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कठोर कारबाही हुने चेतावनी दिएको छ ।
यसका साथै राष्ट्र बैंकले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई मनोबल उच्च राखी कार्य गर्न अनुरोध गर्दै, सम्पूर्ण सरोकारवालाहरूलाई वित्तीय स्थायित्व कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।
Advertisment