काठमाडौं : हालैको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको राहतस्वरूप निर्जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार, यो रकम आन्दोलनका क्रममा परेका कुल दाबी संख्या र रकमको प्रारम्भिक हिस्सा हो।
प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार, १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार ३०३ वटा बीमा दाबी दर्ता भएका छन्। यी दाबीहरूको कुल अनुमानित रकम २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ, जसमध्ये हालसम्म अग्रिम भुक्तानीसहित ५ अर्ब १८ करोड रुपैयाँ बीमितको हातमा पुगिसकेको छ।
निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा ाबीको दाबी रकम करिव रू. १९ अर्ब २ करोडमध्ये करिव रू. ३ अर्ब ८२ करोड र मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४७ करोडमध्ये करिव रू. १ अर्ब २२ करोड भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिव रू. ५५ करोड ४७ लाख दाबी रकममध्ये करिव रू. ७ करोड ५० लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिव रू. १ करोड ६९ लाख दाबी रकममध्ये करिव रू. १ करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिव रू. ३८ करोड ४० लाख दाबी रकममध्ये करिव रू. ५ करोड ५० लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
अग्रिम भुक्तानी सहित तीन अर्ब बढी पुनर्बीमा दाबी भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव रू. ३ अर्ब २ करोड अग्रिम भुक्तानी समेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १६ अर्ब ६२ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
Advertisment