Below Menu
Below Menu

बेकरीजन्य खाद्य पदार्थमा ‘ट्रान्स फ्याट’ न्यूनीकरणका लागि सहकार्यमा जोड

बेकरीजन्य खाद्य पदार्थमा ‘ट्रान्स फ्याट’ न्यूनीकरणका लागि सहकार्यमा जोड

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल पाउरोटी उद्योग संघको संयुक्त आयोजनामा खाद्य पदार्थको स्तर निर्धारण प्रक्रिया तथा ट्रान्स फ्याटले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धी एक वृहत् अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ।

लाजिम्पाटस्थित नेपाली चुलो भोजनालयमा आयोजित उक्त कार्यक्रममा बेकरी उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित ९० जना सरोकारवालाहरूको सहभागिता थियो।

कार्यक्रममा नेपाल हार्ट फाउन्डेसनका  वशिष्ठ सदस्य, स्त्री क्यान्सर रोग विशेषज्ञ, लेजर थेरापी क्लिनिक, लगनखेलका नेपालको पहिलो लेजर थेरापी विशेषज्ञ साथै नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर, जावलाखेलका बोर्ड डाइरेक्टर, डा सुशिला वैद्य ज्यूले ट्रान्स फ्याटले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धी जानकारीको कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 

त्यस्तै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले भर्खरै जारी भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ का प्रमुख प्रावधान र कार्यान्वयन पक्षबारे जानकारी गराए भने विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा। बाल कुमारी शर्माले खाद्य पदार्थको अनिवार्य गुणस्तरको स्तर निर्धारण प्रकृया र खाद्य पदार्थमा ट्रान्स फ्याटको अनिवार्य गुणस्तर सम्बन्धी जानकारीको कार्यपत्र प्रस्तुत गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बेकरीजन्य पदार्थमा ट्रान्स फ्याटको जोखिम घटाउन आयात बिन्दुमै कडाइका साथ नियमन हुनुपर्नेमा जोड दिए । ‘ट्रान्स फ्याट हाल जनचासोको मुख्य विषय बनेको छ,’ श्रेष्ठले भने, ‘यसको सफल नियमनका लागि अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत मनन गर्दै विभाग र निजी क्षेत्रबीच अझै गहन छलफल र सहकार्य आवश्यक छ।’ साथै, उनले अनुगमन र निरीक्षणलाई व्यावहारिक बनाउनुपर्ने धारणा राखे । 

नेपाल पाउरोटी उद्योग संघका अध्यक्ष कमलराज अधिकारीले ऐन कार्यान्वयन गर्दा उद्योगीहरूलाई पनि विश्वासमा लिनुपर्ने बताए । प्रशोधन प्रक्रियामा हुने त्रुटिका कारण ट्रान्स फ्याटको समस्या देखिएको भए त्यसलाई सुधार गर्न उद्योगीहरू सकारात्मक रहेको र यसका लागि प्राविधिक सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रलाद दाहाल, र नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष धुर्ब गौतम लगायतले गुणस्तर सुधारका लागि महासंघ सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरे । 

छलफलको क्रममा सहभागीहरूबाट ट्रान्स फ्याट सम्बन्धी समस्यालाई सम्बोधन गर्न उद्योगीले खेल्नुपर्ने मुख्य भूमिका नेपाल सरकारबाट निर्दिष्ट हुनुपर्ने, उपभोक्ता जनचेतना र उद्योगीलाई नियमन गर्ने कार्य समानान्तर हिसाबले अघि बढाउनुपर्ने, खाद्य स्वच्छता तथा गुणस्तर ऐन सम्बन्धी जनचेतना बढाउने किसिमका थप कार्यक्रमहरू हुनुपर्ने, आदि जस्ता राय सुझाव प्राप्त भएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभागका उपमहानिर्देशक, महासंघका केन्द्रीय सदस्यहरू अरनिको राजभण्डारी र राजकुमार कार्की लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
 

Advertisment

थप समाचार