काठमाडौं : गत असोज १८ गतेयताको अविरल वर्षा, बाढी र पहिरोका कारण भएको ठुलो भौतिक क्षतिका सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूमा परेका दाबीहरूको भुक्तानी प्रक्रिया अघि बढेको छ। बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कुल ७९० वटा प्रारम्भिक दाबीमध्ये ९६ वटा दाबीको राफसाफ भइसकेको छ।
प्राधिकरणका अनुसार कुल चार अर्ब १८ करोड २६ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेकोमा हालसम्म ११ करोड १५ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरिसकिएको छ। यसमा १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूको विवरण समावेश छ।
निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीको दाबी रकम करिव रू. ३ अर्ब ५८ करोड ३२ लाखमध्ये कूल ३३ वटा बीमा दाबीको करिव रू. ९ करोड ६४ लाख र इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिव रू. ५१ करोड ५७ लाखमध्ये कूल ७ वटा दाबीको करिव रू. ९ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।
यसैगरी, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव रू. ४ करोड १४ लाख दाबी रकममध्ये कूल ४२ वटा दाबीको करिव रू. १९ लाख, मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव रू. २ करोड ८२ लाख दाबी रकममध्ये कूल १२ वटा दाबीको करिव रू. १ करोड २० लाख र सामुद्रिक बीमातर्फ ४ वटा बीमा दाबीको करिव रू. ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये २ वटा दाबीको करिव रू. ३ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक तथ्याङ्क रहेको छ ।
यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रू. १ करोड १९ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिव रू. १२ लाख बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म शुरू नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।
Advertisment