Below Menu
Below Menu

डलरको महँगीले थिचिएको अर्थतन्त्रः सार्वजनिक ऋण पौने २८ खर्ब, भुक्तानीको चाप चुलिँदै

डलरको महँगीले थिचिएको अर्थतन्त्रः सार्वजनिक ऋण पौने २८ खर्ब, भुक्तानीको चाप चुलिँदै

काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा सार्वजनिक ऋणको आकार सवा एक खर्ब रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मंसिर मसान्तसम्ममा सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । 

आर्थिक वर्ष सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा एक खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको हो । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ६६ प्रतिशत बराबर हो । 

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.३२ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.६८ प्रतिशत रहेको छ । गत महिना अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा (विदेशी विनिमय दरमा भएको वृद्धि) वैदेशिक ऋणको दायित्व थप बढ्न गएको कार्यालयले जनाएको छ । डलर महंगो हुँदा नेपालले तिर्नुपर्ने ऋणको भार नेपाली मुद्रामा स्वतः बढ्ने गर्छ।

मंसिर मसान्तसम्म सरकारले एक खर्ब ६७ अर्ब एक करोड रुपैयाँ बराबरको सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानी गरेको छ । जसमा साँवा वापत एक खर्ब ३८ अर्ब ३० करोड ७३ लाख रुपैयाँ र ब्याज वापत २८ अर्ब ७० करोड ७९ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।

आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड बराबर रहेकामा मंसिर मसान्तसम्ममा बढेर १३ खर्ब एक अर्ब ६३ करोड पुगेको छ ।जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ३१ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले एक खर्ब ४७ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदा एक खर्ब १४ अर्ब २६ करोड बराबर ऋण तिरेको छ ।

सरकारले विकार निर्माण र चालु खर्च धान्नका लागि आन्तरिक ऋणमा भर परेको कार्यालयको तथ्यांकले देखाएको छ । ऋणको आकार जीडीपीको साढे ४५ प्रतिशत पुग्नुले आगामी दिनमा साँवा–ब्याजको भुक्तानीको चाप सरकारी ढुकुटीमा अझै बढ्ने देखिएको छ । 

त्यस्तै, मंसिर मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १४ खर्ब ८६ अर्ब ९० करोड २२ लाख रुपैयाँ छ । गत असार मसान्तसम्म बाह्य ऋण १४ खर्ब पाँच अर्ब ८२ करोड बराबर थियो । 

यस अवधिमा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा २४ अर्ब चार करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ भने यहि अवधिमा २७ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २४ दशमलव ३५ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा एक खर्ब ७५ अर्ब १२ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति २९.४० प्रतिशत हो । 

जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ४०.७९ र ११.७५ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८४.३२ र १५.६८ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ बजेट छुट्याएको थियो । मंसिर मसान्तसम्ममा एक खर्ब ६७ अर्ब एक करोड बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ । 

यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ४०.६४ प्रतिशत बराबर हो । जिडिपीको आधारमा मंसिर मसान्तसम्मको कुल ऋण सेवा खर्च दुई दशमलव ७३ प्रतिशत बराबर हो ।
 

Advertisment

थप समाचार