Below Menu
Below Menu

सधैँ अन्योलमा लगानी विस्तार गर्ने आँट व्यवसायीमा कसरी आउँछ?

सधैँ अन्योलमा लगानी विस्तार गर्ने आँट व्यवसायीमा कसरी आउँछ?

अटोमोबाइल क्षेत्र खासगरी विद्युतीय सवारीका लागि सन् २०२५ सम्झनलायक वर्ष बन्यो । अटो क्षेत्रको इतिहासमै पहिलो पटक दुईवटा अटो शो (नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो) आयोजना भए । दुई अटो शोले नयाँ किसिमको उत्साह दियो । मौसमी चुनौती र देशमा भएको राजनीतिक उथलपुथलले अटो शोमा बुकिङ भएका गाडी ग्राहकलाई दिन पनि हम्मेहम्मे नै भयो ।

गत असारदेखि नै चीन जोड्ने रसुवागढी र तातोपानी नाका ठप्पप्रायः छन्। चाडवाडको मुखमा पनि यी दुबै नाकामा समस्या देखेसँगै व्यवसायीकै पहलमा मुस्ताङको कोरला नाका खुला गरियो । निकै चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच गाडी काठमाडौंसम्म ल्याइयो । देशभर रहेका धेरै ग्राहकले दसैं अवधिमै कार खरिद गरे ।

हुन त, नेपालमा हल्ला मात्र बढी हुने गर्छ। तर, यसबीचमा विद्युतीय सवारीसाधन प्रयोगमा नेपालले गरेको प्रगति लोभलाग्दो छ । युरोपदेखि अमेरिकासम्मको बजारमा नेपाली अटोमोबाइल बजारको चर्चा हुने गरेको छ । 

नेपालमै पनि ईभीप्रति नकारात्मक विचार राख्नेहरू सकारात्मक हुन थालेका छन् । नेपाली उपभोक्ता बुझ्ने र परीक्षण गर्न रुचाउने वर्गमा पनि पर्छन्, जुन कुरा पछिल्लो पाँच वर्षमा भएको ‘ईभी बुम’ ले प्रस्ट गर्छ । 

विद्युतीय गाडीको ‘पर्फर्मेन्स’ आमउपभोक्ताले बुझिसकेका छन् । उत्तरतिर जोड्ने नाकाको अवस्थाले थप खराब बाटामा पनि ईभीको पर्फर्मेन्स राम्रो हुने देखाएको छ । त्यसमा घरकै बिजुलीबाट ईभी चार्ज गर्न सकिने भएपछि के चाहियो र ? नेपालले स्वच्छ ऊर्जा विकासमा पनि राम्रो काम गरिरहेको छ ।

यसले विद्युतीय सवारी प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । विद्युतीय सवारीसाधन अब सहरी क्षेत्रका लागि मात्र होइन, जस्तोसुकै स्थानमा पनि जान सक्छ भन्ने सन्देश नेपालबाट विश्वभर गइरहेको छ । धेरै कुरा सकारात्मक छन् तर केहीमा भने सुधार गरेरै अगाडि बढ्नुपर्छ । 

अहिले पनि सार्वजनिक सवारीसाधनको रुपमा विद्युतीय गाडीको नकारात्मक प्रचार गर्ने भेटिन्छन् । सवारसाधन आफैँमा खराब हुँदैनन् । त्यसलाई सञ्चालनमा ल्याउन चाहिने पूर्वाधारको खोजी सबैभन्दा पहिला हुनुपर्छ । यस्तो पूर्वाधार निजी क्षेत्रले मात्रै बनाउन सक्दैन । सरकार र व्यवसायीबीचको संयुक्त लगानीमा यस्ता पूर्वाधार निर्माण गर्नुपर्छ । 

चक्रपथजस्ता सडकमा मास ट्रान्सपोर्टको रूपमा २ सय देखि ३ सय जनासम्म बोक्ने विद्युतीय बस प्रयोग गर्न सकिन्छ । यसले विकराल बन्दै गएको ट्राफिक जामको समस्या केही हदसम्म हटाउनेछ भने वायु प्रदूषण नियन्त्रण सहयोग पुग्नेछ । साना र साँघुरा सडकमा अहिले चलिरहेका विद्युतीय माइक्रोबस निकै उपयोगी बन्न सक्छन् । 

अटोमोबाइल वा अन्य निर्यातमा आधारित ठूलो उद्योग नेपालसँग छैन । हाम्रा तुलनात्मक लाभका क्षेत्र सीमित छन् । त्यसमा हरित ऊर्जा विकास र पर्यटन क्षेत्र मुख्य रूपमा अगाडि आउँछन् । यी दुवै क्षेत्र एकअर्काका पूरक पनि हुन् । अहिले विश्वव्यापी रूपमा ग्रिन टुरिजमको अवधारणा अघि बढिरहेको छ । ग्रिन टुरिजमको ईको सिस्टमभित्र विद्युतीय सवारीसाधन जोडेर जानुपर्ने देखिन्छ । 

हाम्रो आवश्यकता, विश्व अटोमोबाइल बजार र दिगो अर्थतन्त्रको विषयमा बहस हुनुपर्छ । त्यसका लागि निजी क्षेत्र र उपभोक्ता तयार देखिएका छन् । सरकार पनि अग्रसर हुनुपर्छ ।
नेपाल आउने अधिकांश पर्यटक हाम्रा हिमाल र पहाडबाट लोभिएर आउने हुन् । हिमाल बचाउन पनि वातावरण जोगाउनुपर्छ । त्यसैले यस्ता पर्यटकलाई वातावरणमैत्री सवारीसाधनमा सेवा दिन सक्ने हो भने विश्वभर त्यसको चर्चा हुनेछ । 

पर्यटक केवल सुन्दर गन्तव्य मात्रै खोजेर हिँड्दैनन् । उनीहरूको चाहना वातावरणमैत्री सामान प्रयोग, स्थानीय समुदायसँग घुलमिल हुने र त्यहीँका वस्तुलाई प्रवद्र्धन गर्न सहयोग गर्नेमा पनि देखिएको छ । त्यसैले प्राकृतिक सौन्दर्य र साँस्कृतिक विविधता भएको देशमा पर्यटनसँग विद्युतीय सवारीसाधन जोड्ने हो भने यसले जलवायु परिवर्तनका क्षेत्रमा खर्च बढाउन शक्तिराष्ट्रलाई दबाब पनि दिन सकिन्छ । 

बढिरहेको आन्तरिक पर्यटनलाई विद्युतीय सवारीले थप तीव्र गतिमा अगाडि बढाएको देखिन्छ । त्यसले अर्थतन्त्रलाई नयाँ ढंगले अगाडि लगेको छ । नेपालमा रोजगारी सिर्जना कमजोर भएकै कारण लाखौँ युवा हरेक वर्ष देश छाडेर गइरहेका छन् । बढ्दो जनशक्ति पलायन रोक्न पनि विद्युतीय सवारीसाधन उपयोगी बन्ने देखिँदैछ । यस क्षेत्रमा रोजगारीका धेरै अवसर पनि सिर्जना भइरहेका छन् ।

अहिले चार्जिङ स्टेसनमा क्याफे, रेस्टुरेन्ट, स्वीमिङ पुलजस्ता पूर्वाधार बन्दैछन् । त्यही चार्जिङ स्टेसन छेउमा स्थानीय उत्पादनसमेत बिक्री हुन थालेका छन् । अहिले मनाङ, मुस्ताङजस्ता भूभागमा चार्जिङ स्टेसन राख्न थालिएको छ । जबकि यी स्थानमा पेट्रोलपम्प बनेका थिएनन् । 

ईभी बिल्कुलै नयाँ क्षेत्र भएका कारण बिक्रीपछि चाहिने सेवामा पनि ठूलो रोजगारी सिर्जना हुने अवस्था छ । चाहे त्यो ठूलो सर्भिस सेन्टरमा होस् या सर्भिस पोइन्ट। तीव्र गतिमा ईभीको स्वीकार्यता बढेसँगै हामीलाई पनि दक्ष जनशक्ति निर्माणमा काम गर्नुपर्ने अवस्था छ । चाडपर्वको समय हामी नै जनशक्ति अभाव झेलिरहेका छौँ । पार्ट टाइमरको रूपमा पनि मानिस खोजेर काम गर्नुपर्ने अवस्था छ । 

विद्युतीय सवारीसाधनको बिक्रीले विश्वमा नेपालको जति चर्चा भइरहेको छ, त्यति नै चुनौती पनि छन् । सरकारले कुन दिन कस्तो नीति लिन्छ भन्ने अन्योलमा काम गर्नुपर्ने अवस्था छ । हरेक वर्षको बजेट हेरेर बिक्रेताले योजना बनाउनुपर्नेछ । ईभी बिक्री गर्नेले हरेक दिन लगानी पनि बढाउनुपर्छ । तर, सधैँ अन्योलमा लगानी विस्तार गर्ने आँट व्यवसायीमा कसरी आउँछ ?

बिक्रीपछिको सेवामा आयातकर्ता कम्पनीले करोडौँ लगानी गर्नुपर्नेछ । सरकारको अस्थिर नीतिले गर्दा लगानी बढाउन कम्पनीहरूलाई एक किसिमको चुनौती नै छ । अब विद्युतीय सवारीसाधनलाई दिगो र भरपर्दो बनाउन काम गर्नुपर्छ । त्यसका लागि विषय–विज्ञको टिम ल्याएर नै दीर्घकालीन योजना बनाउनुपर्छ । 

अहिले बजारमा नकारात्मक ‘प्राइस वार’ भइरहेजस्तो पनि देखिन्छ । चलिरहेको यो प्राइस वारले उपभोक्तालाई तत्कालका लागि फाइदा पुगेजस्तो देखिए पनि यसले अस्वस्थ प्रतिस्पर्धा भने निम्त्याउँछ । त्यसको परिणाम फेरि उपभोक्ताले नै भोग्नुपर्ने अवस्था आउन सक्छ । प्राइस वारको प्रभाव रिसेल भ्यालु घट्ने, सर्भिस तथा पार्टस्को समस्या देखिने र कम गुणस्तरका सवारीसाधन आयात हुने कुरामा पर्छ । यस्तो अवस्था आउन नदिन पनि गुणस्तर मापदण्डका लागि सरकारी तबरबाटै काम गर्न जरुरी देखिन्छ । 

विद्युतीय सवारीमा हाम्रो अथाह सम्भावना छ । पेट्रोकेमिकलको आयात घटाउने, वातावरणीय प्रभाव कम गर्ने र आफ्नै विद्युत् उत्पादन प्रयोग बढाउने साधन नेपाल र नेपालीकै भविष्य हो । विश्वका धेरै देशलाई ईभी फाइदाजनक नलाग्न सक्छ । खाडीमा पेट्रोलियमको त्यत्रो भण्डारण छ, तिनलाई ईभीको चर्चामै सामेल हुनु नपर्ने होला। तर, उनीहरू पनि ईभी प्रयोग बढाउने काम गर्दैछन् । यसले के संकेत गर्छ भने ईभी यातायात क्षेत्रमा निर्विकल्प भविष्य हो ।

हाम्रा सहरदेखि ग्रामीण बस्ती, व्यतिmगत सवारीदेखि सरकारी कार्यालयसम्मका साधन ईभी बन्न थालेका छन् । पेट्रोलियम पदार्थ आयातमा थोरै भए पनि ईभीले बचत गराउन थालेको छ । अहिलेकै रफ्तारमा ५ वर्ष ईभी बिक्री हुने हो भने नेपालमा पेट्रोल आयात आधाले घट्ने अनुमान गर्न सकिन्छ । त्यसका लागि दुईपांग्रे सवारीसाधनलाई पनि योजना बनाएर ईभीमा बदल्नुपर्छ । 

चीन र भारतको बीचमा बसेर हामीले राष्ट्रिय महत्वका विषयमा ठोस चित्र कोर्न नसके खण्डमा व्यापारिक लाभ पाउन कठिन हुन्छ । हाम्रा दक्ष जनशक्ति यहिँ राख्न मुस्किल पर्छ । त्यसैले हाम्रो आवश्यकता, विश्व अटोमोबाइल बजार र दिगो अर्थतन्त्रको विषयमा बहस हुनुपर्छ । त्यसका लागि निजी क्षेत्र र उपभोक्ता तयार देखिएका छन् । सरकार पनि अग्रसर हुनुपर्छ । (सेजन स्मारिका ‘अर्थनीति’ बाट साभार) 

Advertisment

थप समाचार