काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ मंसिर मसान्तसम्म नेपालमा बीमाको दायरा उल्लेख्य रूपमा विस्तार भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बीमाको पहुँचमा आएको जनसंख्या ४९.०५ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४३.०२ प्रतिशत मात्र थियो।
तथ्याङ्कअनुसार जीवन बीमातर्फ कुुल सक्रिय बीमालेखको संख्या एक करोड ३८ लाख ३८ हजार ८७७ बाट बढेर एक करोड ६१ लाख हजार ४८४ पुगेको छ । यस अवधिमा कुल सक्रिय जीवन बीमालेखमा करिब १६.६३ प्रतिशतको वृद्धि देखिएको छ ।
त्यसैगरी, कुल जारी जीवन बीमालेखको संख्या पनि २९ लाख ८९ हजार ३८५ पुगेको छ भने कुल जारी निर्जीवन बीमालेखको संख्या १३ लाख ४१ हजार ७०७ पुगेको छ ।
जीवन बीमा शुल्क संकलनतर्फ पनि उत्साहजनक वृद्धि भएको छ । चालु आवको मंसिर मसान्तसम्म कुल जीवन बीमा शुल्क संकलन ७८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतले बढी हो ।निर्जीवन बीमातर्फको शुल्क संकलन पनि १४ प्रतिशतभन्दा बढीले बढेर १९ अर्ब ९८ करोड रुपैयाँ नाघेको छ ।
बीमा कम्पनीहरूको भौतिक तथा मानव स्रोत संरचनामा पनि सुधार देखिएको छ । जीवन र निर्जीवन बीमा कम्पनीहरूको कुल कार्यालय संख्या ३ हजार १० पुगेको छ भने बीमा क्षेत्रमा कार्यरत कर्मचारी संख्या १२ हजार ३३९ पुगेको छ ।
विशेषगरी लघु, सामुदायिक तथा वैदेशिक रोजगार जीवन बीमाले बीमाको दायरा विस्तारमा महत्वपूर्ण योगदान दिएको प्राधिकरणले जनाएको छ । सरकार र प्राधिकरणले लिएको समावेशी बीमा नीतिका कारण ग्रामिण र विपन्न वर्गमा बीमाको पहुँच पुगेको देखिन्छ ।
Advertisment