Below Menu
Below Menu

ऋणको भार घटाउँदै अशोक स्टिलः एक वर्षमा चार अर्ब ३४ करोडको कारोबार, ब्याज भुक्तानीमा अझै दबाब

ऋणको भार घटाउँदै अशोक स्टिलः एक वर्षमा चार अर्ब ३४ करोडको कारोबार, ब्याज भुक्तानीमा अझै दबाब

काठमाडौं : पछिल्ला वर्षहरुमा अशोक स्टिल इन्डस्ट्री प्राइभेट लिमिटेडको आम्दानीमा उतारचढाव देखिएपनि सञ्चालन नाफामा भने सुधार गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०२३ मा ६ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । तर आर्थिक वर्ष २०२४ मा यो आम्दानी घटेर ३ अर्ब ५८ करोड रुपैयाँमा सीमित भयो ।

चालु आर्थिक वर्ष २०२५ मा भने कम्पनीको आम्दानी ४ अर्ब ३४ करोड ७० लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा ७६ करोड १० लाख रुपैयाँले बढी हो । पछिल्लो तथ्यांकले कम्पनी पुनः लयमा फर्किन थालेको देखिएको छ । 

वित्तीय विवरण अनुसार मार्जिनतर्फ कम्पनीको सञ्चालन नाफा सन् २०२३ मा ५.०२ प्रतिशत रहेकोमा सन् २०२४ मा उल्लेखनीय रूपमा बढेर ९.६९ प्रतिशत पुगेको थियो । यद्यपी सन् २०२५ मा भने यो मार्जिन घटेर ६.८७ प्रतिशतमा सिमित देखिन्छ । 

कम्पनीको ऋण व्यवस्थापनमा भने क्रमिक सुधार देखिएको छ । समग्र ऋण–इक्विटी अनुपात सन् २०२३ मा १९.०३ गुणा रहेको सन् २०२४ मा १७.०३ र सन् २०२५ मा १४.८४ गुणामा झरेको छ । यसले पनि कम्पनीको ऋणको भार घटेको देखिएको हो ।

तर, ब्याज भुक्तानी क्षमताको सूचक मानिने (इन्ट्रेस कभरेज रेसियो) भने सबै वर्षमा १.२ गुणाको आसपासमा सीमित देखिएको छ । जसले कम्पनीमाथि वित्तीय दबाब अझै रहेको पाइएको छ । 

कम्पनीले आफ्नो व्यावसायिक प्रयोजनका लागि कुल ३ अर्ब ३ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि एक अर्ब ७९ करोड २३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि एक अर्ब ६३ करोड ७७ लाख रुपैयाँ बराबरको रेटिङ गराएको हो । 

वि.स. २०४० फागुनमा स्थापना भएको अशोक स्टिलले नेपाली निर्माण सामग्री बजारमा तीन दशकभन्दा लामो अनुभव बटुलिसकेको छ । बारा जिल्लाको गढीमाई नगरपालिका–१० मा रहेको अशोक स्टिलले टीएमटी बार र एमएस बिलेट उत्पादन गर्दै आएको छ । 

वार्षिक १ लाख मेट्रिक टन टीएमटी बार उत्पादन क्षमता रहेको कम्पनी निर्माण तथा पूर्वाधार क्षेत्रको मागमा निर्भर रहेको छ । उद्योगले स्पन्ज आइरन र स्क्र्याप आइरन प्रयोग गरी आफ्नै ‘एमएस बिलेट’ समेत उत्पादन गर्दै आएको छ ।
 

Advertisment