काठमाडौं : नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा दशकौँदेखि सक्रिय गोल्छा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरूले पछिल्ला वर्षहरूमा मिश्रित वित्तीय प्रदर्शन देखाएका छन् । इस्पात, आइरन, वायर, खाद्य उद्योगदेखि फिनटेकसम्म फैलिएको समूहका केही कम्पनीमा कारोबार र नाफा उल्लेखनीय रूपमा बढेको छ भने केहीमा मार्जिन र ऋण व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।
समग्रमा गोल्छा ग्रुपका इस्पात र औद्योगिक कम्पनीहरूमा कारोबार स्थिर वा क्रमशः बढ्दो देखिए पनि मार्जिनमा दबाब कायमै छ । उता, फिनटेक क्षेत्रमा भने समूहले आक्रामक विस्तार र उच्च नाफा वृद्धि हासिल गरेको छ । हुलास खाद्य उद्योग जस्ता नयाँ क्षेत्रमा कारोबार बढ्दै गए पनि नाफा र ऋण व्यवस्थापन अझै चुनौतीपूर्ण देखिएको छ ।
हुलास स्टिलः १३ अर्बको कारोबार, ऋणको भारमा कटौती
इस्पादजन्य उत्पादनमा लामो अनुभव बोकको हुलास स्टिल इण्डस्ट्रिजले पछिल्ला वर्षहरुमा स्थिर व्यवसायिक प्रदर्शन गर्दै वित्तीय संरचना सुदृढ बनाउँदै गएको छ ।
कम्पनीले एक पौने करिब १३ अर्ब रुपैयाँ बराबरको ब्यापार गरेको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार सन् २०२५ मा कम्पनीको व्यापार १२ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ । जुन २०२४ को तुलानामा २ करोड २० लाख रुपैयाँले बढी हो । २०२४ मा कम्पनीको व्यापार १२ अर्ब ७१ करोड १२ लाख रुपैयाँ रहेको थियो । यसअघि सन् २०२३ मा कम्पनीको व्यापार १२ अर्ब सात करोड ४० लाख रुपैयाँ रहेको थियो भने सन् २०२२ को व्यापार १२ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।
वित्तीय विवरण अनुसार सन् २०२२ मा १४.५ प्रतिशत रहेको कम्पनीको पीबीआईएलटीडी मार्जिन (ब्याज भाडा, मूल्य ह्रास र करअघिको नाफा) २०२५ मा घटेर ९.३ प्रतिशतमा सिमित भएको छ । कच्चा पदार्थको मूल्य, आयात निर्भरतार बजार प्रतिस्पर्धाका कारण कम्पनीको नाफा मार्जिनमा दबाब परेको हो ।
हुलास स्टिलको ऋण व्यवस्थापन तर्फ हेर्दा कम्पनीको कर्जा भार उल्लेख्य रुपमा घटेको छ । यस अवधिमा कुल ऋण÷ट्या«जिबल नेटवर्थ अनुपात १.४ गुणाबाट घटेर ०.४ गुणमा झरेको हो । हुलासले सन् २०२० मा आफ्नो पुँजीको तुलनामा १.४ गुणा ऋण लिएको थियो । तर सन् २०२५ मा यो घटेर ०.४ गुणा मात्र भएको हो ।
यसैगरी बाह्य दायित्व अनुपात पनि घटेको छ । सन् २०२० मा कम्पनीको बाह्य दायित्व स्व–पुँजीको १.७ गुणा थियो, तर अहिले यो घटेर ०.६ गुणामा झरेको छ ।
यता, कम्पनीको सञ्चालन नाफा अनुपातले सन् २०२१ मा १९.५ प्रतिशत थियो । सन् २०२५ मा यो घटेर ९.३ प्रतिशत पुगेको छ । कम्पनीको नेट वर्किङ क्यापिटल आम्दानी अनुपात ४२ प्रतिशत रहेको छ । जुन सन् २०२२ मा भने ३० प्रतिशत रहेको थियो ।
सन् १९८१ मा स्थापना भई २००६ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हुलास हाल घरेलु बजार लक्षित इस्पात उत्पादकका रूपमा स्थापित छ ।
कम्पनीमा चार्नले डेभलपमेन्ट कम्पनी लिमिटेडको ५० प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी शेयर गोल्छा परिवारका सदस्य तथा सम्बद्ध संस्थाको स्वामित्वमा रहेको छ ।
गोल्छा परिवारको मिसेस जयश्री गोल्छासँग कम्पनीको करिब २१ प्रतिशत शेयर रहेको छ भने हिमांशु गोल्छाको ६ प्रतिशत शेयर स्वामित्व रहेको छ । हितेश गोल्छाको ६ प्रतिशत र हुलास मेटल क्राफ्ट ६ प्रतिश शेयर स्वामित्व रहेको छ ।
कम्पनीले जस्ता तथा रङ्गीन स्टिल सिट, पाइप, जीपी÷जीआई करुगेटेड सिटलगायत उत्पादन गर्दै आएको छ । हुलासको वार्षिक स्थापित उत्पादन क्षमता करिब चार लाख ८१ हजार ७६२ मेट्रिक टन रहेको छ । जसमध्ये करिब ५० हजार मेट्रिक टन पाइप (कालो र ग्याल्भेनाइज्ड दुवै), ३ लाख ९४ हजार ७०० मेट्रिक टन सिट (सादा, जीपी, जीसीआई) र बाँकी एल्युमिनियम तथा वेल्डेड संरचना उत्पादनमा समावेश छन् ।
हुलास स्टिल्स एक द्वितीयक इस्पात उत्पादक कम्पनी हो । यस कम्पनीले ग्याल्भेनाइज्ड, रंगीन र कोरुगेटेड इस्पातका पाना, पाइप, एल्युमिनियम संरचना, वेल्डेड संरचना र पाइप फिटिङहरू उत्पादन गर्छ ।
कम्पनीले मुख्य कच्चा पदार्थका रूपमा भारतका प्राथमिक इस्पात उद्योगहरूबाट हॉट–रोल्ड (एचआर) इस्पात पाना आयात गर्छ । यिनलाई कम्पनीकै कोल्ड–रोलिङ मिलमा प्रशोधन गरी कोल्ड–रोल्ड (सीआर) सिट बनाइन्छ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल नौ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराएको छ । यसमध्ये दीर्घकालीन कर्जातर्फ एक अर्ब ३७ करोड ३३ लाख रुपैयाँ र अल्पकालीन कर्जातर्फ आठ अर्ब २८ करोड ५५ लाख रुपैयाँ रहेको छ।
हुलास आइरन इन्डस्ट्रिजः कारोबार तीन अर्ब नाघ्यो, मार्जिन र ऋण सूचकमा सुधार
हुलास आइरन इन्डस्ट्रिज कम्पनीको व्यापार तीन अर्ब रुपैयाँ नाघेको छ । पछिल्लो वित्तीय विवरणअनुसार सन् २०२५ मा कम्पनीको कुल सञ्चालन आम्दानी तीन अर्ब ४० करोड ३० लाख रुपैयाँ पुगेको छ ।
सन् २०२४ मा कम्पनीको व्यापार तीन अर्ब ४० लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिना मै कम्पनीले ८० करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको एबिटा मार्जिन (ब्याज, कर, मूल्यह्रास, र परिशोधन अघिको आम्दानी) सन् २०२२ मा ६.९५ प्रतिशत रहेकोमा २०२४ मा उल्लेख्य सुधार भई १७.८५ प्रतिशत पुगेको थियो ।
तर, सन् २०२५ मा भने यस्तो मार्जिन १७.९१ प्रतिशतमा कायम भएको छ भने चालु आवको अपरिष्कृत वित्तीय विवरणमा चार महिनामा बढेर १९.८१ प्रतिशत पुगेको छ । जसले लागत नियन्त्रण र उत्पादन क्षमताको प्रभावकारी उपयोग भएको देखिएको छ ।
हुलास आइरनको ब्याज भुक्तानी अनुपात सन् २०२३ मा ०.८६५ गुणामा झरेको भएपनि सन् २०२५ मा पुनः १.४१ गुणा पुगेको छ । कम्पनीको ऋण व्यवस्थापन तर्फ हेर्दा ओभरअल गियरिङ सन् २०२२ मा ३.७८ गुणामा रहेकामा २०२५ मा घटेर २.५८ प्रतिशतमा झरेको छ ।
पाइप तथा सिट उत्पादनमा संलग्न हुलास आइरन इन्डस्ट्रिज प्राइभेट लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो व्यवसायलाई क्रमशः विस्तार गर्दै वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखाएको छ । सन् २०१७ अप्रिलमा स्थापना भएको कम्पनी सन् २०२३ जुलाई १६ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो।
पर्सा जिल्लाको बिरगञ्जमा अवस्थित उत्पादन प्लान्टमार्फत सञ्चालन भइरहेको कम्पनीले आर्थिक वर्ष २०२१÷२२ देखि पूर्ण व्यावसायिक उत्पादन थालेको हो। हाल कम्पनीको कुल स्थापित उत्पादन क्षमता १,०५,७६५ मेट्रिक टन प्रतिवर्ष रहेको छ । हुलास समूहअन्तर्गत रहेको कम्पनीमा चन्द्रकुमार गोल्छा करिब ७२.९८ प्रतिशत शेयरसहित प्रमुख शेयरधनी रहेका छन्।
हुलासले आइरनले ५ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि एक अर्ब एक करोड ७७ लाखका लागि ‘आइआरएनबीबी’ र अल्पकािलन (सर्ट ट्रम) चार अर्ब ३७ करोड कर्जाका लागि ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ ।
हुलास वायर इन्डस्ट्रिजः कारोबार खुम्चियो, मार्जिनमा सुधार
गोल्छा ग्रुप अन्तर्गतको हुलास वायर इन्डस्ट्रिजले एक वर्षको अवधिमा सात अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीको यो कारोबार अघिल्लो वर्षको तुलनामा घटेको हो ।
कम्पनीले सन् २०२४ मा आठ अर्ब ५१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसअघि कम्पनीले सन् २०२३ मा छ अर्ब ५ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब ८३ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
सन् २०२२ पछि कम्पनीको कारोबार उल्लेखनीय रुपमा बढेको थियो । तर पछिल्लो केही वर्ष संकुचन आएको छ । निर्माण क्षेत्रको सुस्तता, कच्चा पदार्थको मूल्य उतारचढाव र समग्र आर्थिक मन्दीका कारणका कम्पनीको कारोबार घटेको हो ।
कम्पनीको इबिटा मार्जिन पछिल्लो वर्ष ९.१९ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षको भन्दा सुधारिएको हो । सन् २०२४ मा कम्पनीको यस्तो मार्जिन ६.९४ प्रतिशत पुगेको थियो । कारोबार घटेपनि कम्पनीको सञ्चालन खर्च नियन्त्रणमा रहेको छ । यद्यपी तथ्यांकअनुसार कम्पनीको ऋणको भार भने बढेको देखिएको छ ।
हुलास वायर इन्डष्ट्रिजले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि सात अर्ब २९ करोड २७ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ । यसअन्तर्गत दीर्घकालीन कर्जाका लागि २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँको रेटिङ गराएको हो ।
सन् १९७९ मा स्थापना भएको कम्पनी सन् २००६ मा पब्लिक कम्पनीको रूपमा परिणत गरेका थियो । कम्पनीको दुई वटा सामग्री उत्पादन युनिट छन् ।
हुलास वायरको वार्षिक ५५ हजार मेट्रिक टन जीआई तार, १४ हजार ४ सय मेट्रिक टन गाबियन बक्सेस, २ हजार ३ सय ७५ मेट्रिक टन एचबी वायर, ३ हजारक ३ सय मेट्रिक टन रिब्बड वायर, ४ सय ५० मेट्रिक टन बार्बेड वायर, १२ सय मेट्रिक टन वायर नेल्स, ५ हजार ५ सय ६० मेट्रिक टन ब्रास र २ हजार २ सय मेट्रिक टन कपर सिट्स उत्पादन क्षमता छ ।
त्यसैगरी, कम्पनीले वार्षिक १ लाख ७२ हजार ८ सय मेट्रिक टन डण्डी र न्यारो स्ट्रिप कोयल, ८६ हजार ४ सय मेट्रिक टन एमएस बिलेट र ३६ हजार मेट्रिक टन क्षमतामा एमएस ब्ल्याक पाइप उत्पादन गर्दै आएको छ ।
गोल्छा ग्रुपद्वारा सञ्चालित कम्पनीमा पारस एम गोल्छाको ३४ प्रतिशत र राजलक्ष्मी गोल्छाको १७ प्रतिशत स्वामित्व छ । हाल कम्पनीको नेतृत्व युक्ति गोल्छाको गरिरहेकी छन् ।
हुलास खाद्य उद्योगः व्यापार बढ्यो, तर नाफामा चुनौती
हुलास ग्रुपद्वारा प्रवद्र्धित हुलास खाद्य उद्योग लिमिटेडले एकै वर्ष सवा ४६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीको व्यापार एक वर्षमा ३१ करोड २० लाख रुपैयाँले बढेर सन् २०२५ मा ४६ करोड ३० लाख रुपैयाँ पुगेको हो ।
कम्पनीले सन् २०२४ मा १५ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । पछिल्ला दुई वर्षहरुमा कम्पनीको व्यापारमा उतारचढाव देखिएपनि गत वर्ष भने उल्लेखनीय सुधार देखिएको हो ।
सन् २०२२ मा कम्पनीले ३८ करोडरुपैयाँको व्यापार गरेको थियो भने र सन् २०२३ मा यो व्यापार घटेर १३ करोड ७० लाख रुपैयाँमा सिमित भएको थियो । त्यसपछि सन् २०२४ मा १५ करोड १० लाख रुपैयाँ पुगेको कम्पनीको व्यापार एकाएक बढेर ४६ करोड माथि पुगेको हो ।
तर, व्यापार बढेपनि कम्पनीको नाफाको अवस्था भने अझै चुनौतिपूर्ण रहेको देखिएको छ । सन् २०२२ मा ७.२९ प्रतिशत इबिटा मार्जिन सकारात्मक रहेपनि त्यसपछिका वर्षहरुमा यस्तो मार्जि नकारात्मक रहेको छ ।
त्यसैगरी कम्पनीको ब्याज भुक्तानी अनुपात सन् २०२२ मा १.२२ गुणा भएपनि पछिल्ला वर्षहरुमा नकारात्मक रहेको छ । जसका कारण कम्पनीको सञ्चालन नाफाले ब्याज खर्च धान्न नसकेको देखिएको हो ।
कम्पनीको चालु अनुपात सन् २०२५ मा ०.९२ गुणा पुगेको छ । जुन सन् २०२३ र सन् २०२४ को तुलानामा केही सुधार भएपनि अझै पनि औषत स्तर भन्दा तल नै रहेको छ । यसले कम्पनीको अल्पकालिन दायित्व भुक्तानीमा दबाब रहेको जनाएको छ ।
हुलास खाद्य उद्योगले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७१ कारोड ९१ लाख रुपैयाँको क्रेडिट रेटिङ गराएको छ । यसमध्ये दीर्घकालीन कर्जाका लागि २९ करोड ८८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४२ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीको कुल गियरिङ रेसियो ९.२८ गुणा पुगेको छ । जसको अर्थ कम्पनी सञ्चालनमा कर्जाको हिस्सा ठूलो र वित्तीय जोखिम तुलानात्मक रुपमा उच्च रहनु हो ।
हुलास खाद्य उद्योगले धान र गहुँ प्रशोधन गरी चिउरा, आँटा, मैदा, ब्रोकन राइस, सुजी, राइस ब्रान लगायतका खाद्य सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादनहरू ‘अग्रिम चक्की आँटा’, ‘अग्रिम चिउरा’, ‘अग्रिम मैदा’, ‘अग्रिम मिल आँटा’ र ‘अग्रिम सुजी’ ब्रान्डमार्फत नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ ।
उद्योगको उत्पादन केन्द्र कोहलपुर–१४, बाँकेमा रहेको छ, जसले पश्चिम नेपाललाई केन्द्रमा राखेर बजार विस्तार गर्न सहयोग पुर्याइरहेको छ ।
सन् १९९१ मा ‘हिमांशु खाद्य उद्योग प्रालि’ का रूपमा स्थापना भएको कम्पनी सन् २०२५ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । हाल कम्पनीमा १४ जना प्रवद्र्धक सेयरधनी रहेका छन् ।
शेयर स्वामित्व संरचना अनुसार चन्द्रकुमार गोल्छाको सबैभन्दा ठूलो हिस्सा रहेको छ । उनको स्वामित्व ६३ प्रतिशत रहेको कम्पनीले जनाएको छ । त्यस्तै, शरद गोल्छाको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी शेयर अन्य प्रवद्र्धकहरूबीच विभाजित रहेको छ ।
हुलास फिनसर्भः व्यवसाय र नाफामा ऐतिहासिक फड्को
गोल्छा समूहअन्तर्गतको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो व्यवसाय उल्लेखनीय रूपमा विस्तार गर्दै वित्तीय सूचकहरूमा मजबुत सुधार देखाएको छ ।
नेपाल राष्ट्र बैंकको नियमनअनुसार पुनःसंरचना भई नोभेम्बर २०२३ मा हालको नाम अपनाएको कम्पनीले हायर पर्चेज वित्त क्षेत्रमा सशक्त उपस्थिति बनाउँदै गएको छ ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०२४/२५ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कुल सञ्चालन आम्दानी ९ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ३२ करोड रुपैयाँको तुलनामा झन्डै दोब्बर हो।
यस अवधिमा कम्पनीले २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९८ करोड रुपैयाँले बढी हो । विशेषगरी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि भई २१ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले नौ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सवारी साधन हायर पर्चेज कर्जामा लगानी उल्लेखनीय रूपमा बढेसँगै नाफा र आम्दानीमा तीव्र सुधार आएको कम्पनीले जनाएको छ।
कम्पनीको कुल व्यवस्थापन पोर्टफोलियो २०२२ मा ३ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा २०२५ मा बढेर ८ अर्ब २ करोड ६० करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमै पोर्टफोलियो ९ अर्ब ९३ करोड ४० करोड रुपैयाँ पुगेको छ ।
हुलास फिनसर्भले जोखिम व्यवस्थापनमा पनि उल्लेखनीय सुधार गरेको छ। २०२३ मा ७.११ प्रतिशत रहेको खुद एनपीएल (खराब कर्जा) २०२५ मा घटेर ३.३७ प्रतिशतमा सीमित भएको छ ।
त्यस्तै, नेट एनपीएल ०.८० प्रतिशतमा झरेको छ । ९० दिनभन्दा बढीको बक्यौता २०२२ को २०.३३ प्रतिशतबाट घटेर २०२५ मा ६.१४ प्रतिशतमा आएको छ ।
२०२५ मा कम्पनीको कुल ऋण ६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने गियरिङ रेसियो ४.१३ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गियरिङ रेसियो ४.६६ पुगे पनि आम्दानी र पोर्टफोलियो विस्तारसँगै कर्जा उपयोग बढेको कम्पनीले जनाएको छ ।
कम्पनीमा हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालिको करिब ८२ प्रतिशत स्वामित्व रहेको छ । उक्त कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारिक वितरक पनि हो । बाँकी शेयर विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको स्वामित्वमा रहेको छ । कम्पनीको अध्यक्ष शेखर गोल्छा रहेका छन्।
हुलास फिनसर्भले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी पनि अगाडि बढाएको छ । कम्पनीले २० लाख ७५ हजार कित्ता शेयर निष्कासका लागि एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।