काठमाडौं : हालैकाे जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार ३१६ वटा बीमा दाबीमध्ये हालसम्म करिब रू ५ अर्ब ४८ करोड २५ लाख रकम बीमितहरूलाई भुक्तानी गरिएको छ। अग्रिम भुक्तानीसमेत गरी कूल दाबी रकम करिब रू। २३ अर्ब ४७ करोड रहेको बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कमा उल्लेख छ।
बीमा प्राधिकरणमा प्राप्त विवरणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमार्फत विभिन्न शीर्षकमा दाबी भुक्तानी भइरहेको छ। सम्पत्ति बीमातर्फ कूल ७१२ वटा दाबीबाट करिब रू। १९ अर्ब ५ करोड बराबरको क्षति दाबी परेकामा हालसम्म करिब रू। ३ अर्ब ९३ करोड ५९ लाख भुक्तानी भएको छ।
यस्तै, मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा दाबीमार्फत करिब रू। ३ अर्ब ४६ करोड १६ लाखको दाबी परेकोमा करिब रू। १ अर्ब ३९ करोड २५ लाख भुक्तानी गरिएको छ।
अन्य शीर्षकहरूमा पनि दाबी भुक्तानी जारी रहेको छ। इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२६ वटा दाबीबाट करिब रू। ५५ करोड ३९ लाख दाबी परेकोमा करिब रू। ८ करोड ३६ लाख भुक्तानी भएको छ। परिवहन बीमातर्फ १२ वटा दाबीबाट करिब रू। १ करोड ६९ लाखमध्ये रू। १ करोड ५५ लाख भुक्तानी भएको छ भने अन्य बीमातर्फ ४५ वटा दाबीमार्फत करिब रू। ३८ करोड ४० लाख दाबी रकममध्ये करिब रू। ५ करोड अग्रिम भुक्तानी गरिएको छ।
पुनर्बीमा दाबीमा ३ अर्ब २ करोड भुक्तानी
जेन–जी आन्दोलनका कारण उत्पन्न क्षतिको बीमा दाबी भुक्तानीलाई सहज बनाउन नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसहित करिब रू। ३ अर्ब २ करोड पुनर्बीमा दाबी भुक्तानी गरेको छ।
नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीबाट कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबी परेको छ। ती दाबीहरूको कूल पुनर्बीमा दाबी रकम करिब रू। १६ अर्ब ६२ करोड ६६ लाख रहेको कम्पनीले जनाएको छ।
Advertisment