काठमाडौं : एक वर्षमा साढे ११ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ को तुलनामा पर्यटक आवागमनमा सामान्य वृद्धि देखिएको छ । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
यस वर्षको डिसेम्बरमा मात्र ९८ हजार ९० विदेशी पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकमा उल्लेख छ । एक वर्षको अवधिमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट दुई लाख ९२ हजार ४३८ पर्यटक भित्रिएका छन् ।
त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ९५ हजार ४८०, बेलायतबाट ५८ हजार ६८४, बंगलादेशबाट ५७ हजार ५४५, अष्ट्रेलियाबाट ४९ हजार ३५७, श्रीलंकाबाट ३७ हजार ५५०, म्यानमारबाट ३० हजार २४३, जर्मनीबाट ३० हजार २२७ र जापानबाट २४ हजार ७६३ पर्यटक भित्रिएका हुन् ।
क्षेत्रगत रुपमा दक्षिण एसियाली मुलुकबाट चार लाख आठ हजार १०३, एसियाली अन्य मुलुकबाट दुई लाख ५३ हजार ३११, युरोपबाट दुई लाख २१ हजार १८, ओसिनियाबाट ५३ हजार ६९५, अमेरिकाबाट एक लाख ३५ हजार ५०३, मध्य पूर्वी मुलुकबाट २० हजार ५०४, अफ्रिकाबाट ४३२० र अन्य मुलुकबाट ६२ हजार ५ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
Advertisment