Below Menu
Below Menu

पुँजीकोषको दबाब कम गर्न एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने 

पुँजीकोषको दबाब कम गर्न एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति माग गरेको हो।

पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गर्दै राष्ट्र बैंकसँग स्वीकृतिका लागि निवेदन दिएको हो।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ। यसअनुसार बैंकले सात अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको सात करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

बैंकले विगत केही वर्षदेखि नै पुँजीकोषमा देखिएको दबाब कम गर्न हकप्रद शेयर जारी गर्ने प्रयास गर्दै आएको थियो। तर, यसअघिका वर्षहरूमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई हकप्रद शेयर निष्कासनमा कडाइ गरेपछि योजना अघि बढ्न सकेको थिएन।

पुँजीकोषमा दबाब बढेपछि बैंक अग्राधिकार शेयर निष्कासन गर्ने विकल्पसमेतमा पुगेको थियो। न्यूनतम प्राथमिक पुँजीकोष कायम गर्न नसकेको अवस्थामा राष्ट्र बैंकले केही वर्ष बैंकलाई लाभांश वितरणमा समेत रोक लगाएको थियो।

हालै नयाँ गभर्नरको नियुक्तिसँगै मौद्रिक नीतिमा पुँजी वृद्धि सहज बनाउने नीति लिइएपछि राष्ट्र बैंक लचिलो देखिएको छ। यही नीतिगत सहजीकरणको आधारमा एनआईसी एशिया बैंकले पुँजी वृद्धि गर्न हकप्रद शेयर निष्कासनको अनुमति माग गरेको हो।

Advertisment

थप समाचार