काठमाडौं : एसियन हाइड्रोपावर लिमिटेडले जलविद्युत् केन्द्रित व्यवसायिक पहिचानबाट बाहिर निस्कँदै नवीकरणीय ऊर्जाको विविधीकरणतर्फ महत्वपूर्ण फड्को मारेको छ।
कम्पनीले कुल ४० मेगावाट क्षमताका दुई ठूला सौर्य ऊर्जा आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरण (एनईए) सँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न गरेको जानकारी दिएको हो ।
कम्पनीका अनुसार यी सौर्य आयोजना मधेस प्रदेशका धनुषा र सर्लाही जिल्लामा निर्माण हुनेछन्। पहिलो आयोजनाका रूपमा धनुषा जिल्लाको मिथिला नगरपालिकामा ३० मेगावाट (३०,००० किलोवाट) क्षमताको ‘ढल्केबर–२ सौर्य ऊर्जा आयोजना’ अघि बढाइएको छ।
आयोजनाको विकास, निर्माण तथा सञ्चालनका लागि इन्टीग्रेटेड इनर्जी एण्ड इन्डस्ट्रियल इन्टरप्राइजेज प्रालि नामक विशेष उद्देश्य कम्पनी स्थापना गरिएको छ, जसमा एसियन हाइड्रोपावरको मुख्य लगानी रहनेछ।
त्यसैगरी, दोस्रो आयोजनाका रूपमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा १० मेगावाट (१०,००० किलोवाट) क्षमताको ‘हरिपुर सौर्य ऊर्जा आयोजना’ निर्माण गरिने भएको छ। यस परियोजनामा मिथिला सोलार इनर्जी प्रालिसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ।
दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ र त्यसका लागि आवश्यक पीपीए प्रक्रिया पूर्ण भर्इसकेको कम्पनीले जनाएको छ।
हाल एसियन हाइड्रोपावरको प्रमुख उत्पादन स्रोत ६.२ मेगावाट क्षमताको तल्लो हेला खोला जलविद्युत आयोजना हो। तर, अब थप ४० मेगावाट सौर्य ऊर्जा परियोजना कम्पनीको पोर्टफोलियोमा जोडिँदा उत्पादन क्षमता मात्र होइन, आम्दानीको आधारसमेत व्यापक रूपमा विस्तार हुने देखिएको छ।
जलविद्युत आयोजना हिउँदमा पानीको बहाव कम हुँदा उत्पादन घट्ने संरचनात्मक चुनौतीबाट प्रभावित हुने गर्छन्। यस्तो अवस्थामा सौर्य ऊर्जा आयोजनाले हिउँदमा पनि स्थिर उत्पादन र आम्दानी दिने भएकाले कम्पनीको नगद प्रवाह (क्यास फ्लो) थप सुदृढ र सन्तुलित बन्ने अपेक्षा गरिएको छ।
पछिल्लो वित्तीय विवरणअनुसार एसियन हाइड्रोपावरको चुक्ता पुँजी करिब ३४ करोड रुपैयाँ रहेको छ। तुलनात्मक रूपमा सानो पूँजी भएको कम्पनीले यति ठूलो क्षमताका सौर्य आयोजना सुरक्षित गर्नु ‘गेम चेन्जर’ रणनीतिक कदम रहेको छ । पीपीए सम्पन्न भइसकेकाले अब आयोजना निर्माणले तीव्रता लिने र निकट भविष्यमै यसको सकारात्मक प्रभाव कम्पनीको वित्तीय विवरणमा देखिन थाल्ने अपेक्षा गरिएको छ।
दीर्घकालीन रूपमा यी आयोजना सञ्चालनमा आएपछि कम्पनीको आम्दानी, नाफा र लाभांश क्षमता उल्लेख्य रूपमा बढ्ने छ । जसको प्रत्यक्ष लाभ शेयरधनीले पाउनेछन् । ऊर्जा विविधीकरणतर्फको निर्णायक कदमले एसियन हाइड्रोपावरलाई अझ बलियो दिगो र लगानीमैत्री ऊर्जा कम्पनीका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

Advertisment