Below Menu
Below Menu

रामेछापको मन्थलीमा पानीजहाजमा ‘सरर’ : तामाकोसी नदीमा पहिलो पटक जेटबोट सेवा

रामेछापको मन्थलीमा पानीजहाजमा ‘सरर’ : तामाकोसी नदीमा पहिलो पटक जेटबोट सेवा

रामेछाप  : अविरल बग्ने तामाकोसी नदी, त्यसैको किनारमा हुर्किएका मन्थलीका स्थानीय बासिन्दाले सायद कल्पनासमेत गरेका थिएनन् । एक दिन यही नदीमा पानीजहाज दौडनेछ।

Sponsored Advertisement

तर अहिले मन्थलीमा त्यो दृश्य यथार्थ बनेको छ । तामाकोसी नदीमा पहिलो पटक जेटबोट (पानीजहाज) सञ्चालनमा आएको छ, जसले रामेछापको पर्यटनमा नयाँ अध्याय थपेको छ ।

नदीको सतह चिर्दै पानी माथि ठुलो माछा पौडिए जस्तै दौडने जेटबोटले यात्रुहरूलाई केही मिनेटमै साहसिक अनुभूति दिलाउँछ । जलमार्गबाट छिटो यात्रा र रोमाञ्चक अनुभव चाहने पर्यटकका लागि तामाकोसी मरिण एडभेन्चर प्रा।लि।ले यो सेवा सुरु गरेको हो ।

जेटबोट सञ्चालनअघि तामाकोसी नदीको बहाव, गहिराइ र भौतिक अवस्थाको विस्तृत परीक्षण गरिएको थियो। परीक्षण सफल भएपछि हाल छोटो दूरीमा व्यावसायिक रूपमा सेवा सुरु गरिएको कम्पनीका सञ्चालक सागरहरी अधिकारी बताउँछन् । ‘नदीको अवस्था उपयुक्त देखिएपछि सीमित दूरीमा जेटबोट चलाएका छौँ,’ उनले भने ‘कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्दै सेवा विस्तार गर्ने तयारीमा छौँ ।’

हाल परीक्षण र छोटो दूरीमा सीमित सेवा भए पनि कम्पनीको दीर्घकालीन योजना भने महत्त्वाकाङ्क्षी छ । सरोकारवाला निकायसँगको समन्वय र आवश्यक स्वीकृति प्राप्त भएपछि मन्थलीदेखि खुर्कोटसम्म जेटबोट सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।

यदि यो योजना कार्यान्वयनमा आएमा मन्थली–खुर्कोटबीचको करिब १५ किलोमिटर दूरी मात्र ७ मिनेटमा पार गर्न सकिनेछ । अहिले यही दूरी सडक मार्गबाट पार गर्न आधा घण्टा समय लाग्ने भएकाले जेटबोट सेवा यात्रुका लागि मात्र होइन, स्थानीय आवतजावत र सम्भावित आपत्कालीन सेवाका लागि पनि उपयोगी हुने अपेक्षा गरिएको छ ।

जेटबोटमा एक पटकमा १५ जनासम्म यात्रा गर्न सकिने सिट क्षमता रहेको छ। सञ्चालन सुरु भएसँगै आन्तरिक पर्यटकहरूको चासो उल्लेखनीय देखिएको छ। विशेष गरी बिदाका दिनमा सयभन्दा बढी यात्रुले जेटबोट यात्राको अनुभव लिने गरेको सञ्चालक अधिकारी बताउँछन्।

पहिलो पटक पानीजहाज चढेका यात्रुहरूका लागि यो अनुभव नयाँ र रोमाञ्चक छ। नदीको बहावसँगै उफ्रँदै अघि बढ्ने जेटबोटले केही मिनेटमै यात्रुलाई उत्साह, डर र खुसीको मिश्रित अनुभूति दिलाउँछ।

जेटबोट सञ्चालनसँगै मन्थली र आसपासका क्षेत्रमा पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ। होटेल, रेष्टुराँ, यातायात र स्थानीय रोजगारीमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय व्यवसायीहरूको बुझाइ छ। तामाकोसी नदीलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिए रामेछाप आन्तरिक पर्यटनको महत्त्वपूर्ण केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ।

जहाज सञ्चालनका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन मन्थली नगरपालिकामा बुझाइसकिएको छ। नगरपालिकाबाट स्वीकृति प्राप्त भएपछि थप कानुनी र प्राविधिक प्रक्रिया अघि बढाइने सञ्चालक अधिकारीले जानकारी दिए।

तामाकोसी नदीमा सुरु भएको यो जेटबोट सेवा केवल एक यात्राको माध्यम मात्र होइन, रामेछापको पर्यटन, सम्भावना र साहसिक पहिचानको नयाँ सङ्केत पनि हो। पानीजहाजसँगै मन्थली अब ‘सरर’ गर्दै नयाँ यात्रातर्फ अघि बढिरहेको छ।

थप समाचार