काठमाडौं : कोशी प्रदेशमा स्टार्टअप उद्यमको भविष्य उत्साहजनक देखिएको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति’ विषयक विशेष अध्ययन प्रतिवेदनले प्रदेशका अधिकांश स्टार्टअप उद्यम नाफामा सञ्चालन भइरहेको देखाएको हो ।
प्रतिवेदन अनुसार कृषि तथा वनजन्य, पर्यटन र उत्पादनमूलक क्षेत्र उच्च व्यावसायिक क्षेत्र प्रदेशमा सबैभन्दा उच्च व्यवसायिक सम्भावनायुक्त क्षेत्रका रूपमा अगाडि आएका छन् ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता भई सर्टलिस्ट भएका उद्यमलाई आधार मानी प्रदेशका १० जिल्लामा सञ्चालनमा रहेका १६० स्टार्टअप उद्यमबाट तथ्याङ्क सङ्कलन गरी अध्ययन गरिएको हो ।
कृषि तथा वनजन्य क्षेत्रमा स्टार्टअप वर्चस्व
अध्ययनअनुसार स्टार्टअप उद्यममध्ये ४१.३ प्रतिशत कृषि तथा वनजन्य क्षेत्रमा सञ्चालनमा छन् । त्यसपछि उत्पादनमूलक १८.१ प्रतिशत, सेवामूलक १७.५ प्रतिशत, पर्यटन १३.८ प्रतिशत र सूचना प्रविधि ९.४ प्रतिशत उद्यम रहेका छन् ।
उद्यमीहरूले कोशी प्रदेशमा उच्च व्यावसायिक सम्भावना रहेको क्षेत्रका रूपमा कृषि तथा वनजन्य (४३.१ प्रतिशत) लाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यसपछि पर्यटन (२१.३ प्रतिशत), उत्पादनमूलक (१३.८ प्रतिशत), सेवामूलक (१० प्रतिशत) र सूचना प्रविधि (८.१ प्रतिशत) क्षेत्र रहेका छन्।
भौगोलिक वितरण हेर्दा ६६.९ प्रतिशत स्टार्टअप उद्यम तराई क्षेत्रमा सञ्चालनमा छन् । पहाडी क्षेत्रमा २२.५ प्रतिशत र हिमाली क्षेत्रमा १०.६ प्रतिशत उद्यम रहेका छन् । अध्ययनले स्टार्टअपको प्रकृति भौगोलिक अवस्थासँग प्रत्यक्ष रूपमा निर्भर नभए पनि क्षेत्रगत वितरण भने फरक रहेको निष्कर्ष निकालेको छ ।
नवप्रवर्तनको प्रयोगका हिसाबले हेर्दा ५४ प्रतिशत उद्यमले वस्तु तथा सेवामा, ४१ प्रतिशतले उत्पादन प्रक्रियामा र ५ प्रतिशत व्यवसायले वितरण प्रक्रियामा नवीन सोच तथा प्रविधिको प्रयोग गरेका छन् ।
स्टार्टअप उद्यममा ३६ देखि ५० वर्ष उमेर समूहका उद्यमी सबैभन्दा बढी (४४.४ प्रतिशत) रहेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३९.३ प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६.२ प्रतिशत उद्यमी रहेका छन् भने लैङ्गिक हिसाबले ७४.४ प्रतिशत पुरुष र २५.६ प्रतिशत महिला उद्यमी रहेका छन्।
स्टार्टअप सुरु गर्ने मुख्य कारणका रुपमा ३७.१ प्रतिशत उद्यमीले आत्मनिर्भर बन्ने चाहना उल्लेख गरेका छन्। समाजमा योगदान गर्ने चाहना (२५.८ प्रतिशत), नयाँ अवसरको खोजी (२५.१ प्रतिशत) र रोजगारीको अभाव (७.९ प्रतिशत) पनि प्रमुख कारणका रूपमा देखिएका छन्।
लगानी, रोजगारी र नाफा
१६० स्टार्टअप उद्यममा कुल लगानी २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ, जसमा ६१.३ प्रतिशत स्वपुँजी र ३८.७ प्रतिशत ऋण लगानी रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा यी उद्यमहरूले १,४३६ जनालाई रोजगारी दिएका छन्, जसमा ४८.४ प्रतिशत महिला र ५१.६ प्रतिशत पुरुष छन् ।
उक्त वर्ष ८० प्रतिशत स्टार्टअप उद्यम नाफामा रहेका छन् भने २० प्रतिशत उद्यम घाटामा छन् । कुल बिक्री आम्दानी ९२ करोड ६४ लाख रुपैयाँ र कुल नाफा १२ करोड ९२ लाख रुपैयाँ पुगेको छ । औसत नाफा दर १३.९ प्रतिशत रहेको छ ।
त्यसैगरी अध्ययनमा समावेश स्टार्टअप उद्यमहरूमा कुल लगानी २ अर्ब २४ करोड ९० लाख रहेको छ भने औसत लगानीमा प्रतिफल दर ५.७ प्रतिशत रहेको छ ।
अध्ययनमा समावेश भएका १६० स्टार्टअप उद्यम मध्ये ६५ वटा (४०.६ प्रतिशत) उद्यमले सरकारी अनुदान तथा सुविधा प्राप्त गरेका छन्भने ९५ वटा (५९.४ प्रतिशत) उद्यमले कुनै पनि सरकारी अनुदान तथा सुविधा प्राप्त नगरेको देखिएको छ ।
बजार, प्रविधि र परामर्श
कुल उद्यममध्ये ७२ वटा (४५ प्रतिशत) उद्यमको प्रमुख बजार स्थानीय बजार, ७५ वटा (४६.९ प्रतिशत) उद्यमको प्रमुख बजार राष्ट्रिय बजार र १३ वटा (८.१ प्रतिशत) उद्यमको प्रमुख बजार अन्तर्राष्ट्रिय बजार रहेको छ ।
प्रविधिको प्रयोगको आधारमा वर्गिकरण गर्दा ४४ वटा (२७.५ प्रतिशत) उद्यममा उच्च प्रविधि, १०४ वटा ( ६५ प्रतिशत) उद्यममा सामान्य प्रविधिको प्रयोग भएको छ भने १२ वटा (७.५ प्रतिशत) उद्यममा प्रविधिको प्रयोग नभएको देखिन्छ ।
त्यस्तै ९४ वटा उद्यमले व्यवसाय सञ्चालनका लागि परामर्श सेवा लिएका छन् भने ६६ वटा उद्यमले व्यवसाय सञ्चालनका क्रममा कुनै किसिमको परामर्श सेवा प्राप्त नगरेको प्रतिवेदनमा उल्लेख छ ।
उद्यमले आफ्नो उत्पादनको बजारीकरणमा सबैभन्दा बढी ३३.९ प्रतिशतले साथीभाई/नातेदार, २८.३ प्रतिशतले सामाजिक सञ्जाल, ८.५ प्रतिशतले वेभसाइट, ७.२ प्रतिशतले अनलाइन विज्ञापन र मेला÷महोत्सव, ६.१ प्रतिशतले परम्परागत मिडिया, ४.५ प्रतिशतले डोर टु डोर सम्पर्क र ४.३ प्रतिशतले अन्य विधि प्रयोग गरेका छन् ।
चुनौती र समाधानका सुझाव
स्टार्टअप उद्यमले सुरुवाती चरणमा पुँजीको अभाव, दक्ष जनशक्तिको कमी, सीप तथा परामर्श अभाव र दर्ता प्रक्रियाका जटिलता प्रमुख चुनौतीका रूपमा भोग्नुपरेको अध्ययनले देखाएको छ । सञ्चालनका क्रममा लगानीकर्ताको अभाव, बजार प्रतिस्पर्धा र प्रविधिको सीमितता पनि मुख्य समस्या बनेका छन्।
प्रदेशका उद्यमहरूले सुरुवाती चरणमा ३२.७ प्रतिशतले पुँजीको अभाव, २०.४ प्रतिशत दक्ष जनशक्तिको अभाव, १४.५ प्रतिशतले सिप तथा ज्ञानको अभाव, १४.२ प्रतिशतले परामर्शको अभाव, १३.३ प्रतिशतले दर्ता प्रक्रियाका जटिलताहरू जस्ता समस्याको सामना गर्नु परेको देखिन्छ ।
यसबाहेक ४.९ प्रतिशतले अन्य समस्याहरू जस्तै कच्चा पदार्थको अभाव, पूर्वधार तथा उपकरण अभाव आदि सामना गर्नु परेको देखिन्छ । स्टार्टअप उद्यमहरूले सञ्चालनका क्रममा २३.७ प्रतिशतले लगानीकर्ताको अभाव, २२.४ प्रतिशतले दक्ष कामदारको अभाव, २१.४ प्रतिशतले बजार प्रतिस्पर्धा, १८.८ प्रतिशतले प्रविधिको सीमितता, ४.९ प्रतिशतले नियामकीय समस्याहरू र ८.८ प्रतिशतले अन्य समस्याहरू (कच्चा पदार्थको अभाव, पूर्वधारको तथा उपकरण अभाव, बजार व्यवस्थापन, जनचेतनाको कमी आदि) को सामना गरिरहेको देखिन्छ ।
प्रतिवेदनले स्टार्टअप प्रवद्र्धनका लागि बिउ पुँजी, सह–लगानी मोडेल, भेन्चर क्यापिटल, कर छुट, कानुनी सरलता र कर्जा पहुँच सहज बनाउनुपर्ने सुझाव दिएको छ। साथै, संघीय, प्रदेश र स्थानीय तहमा इन्क्युबेसन सेन्टर स्थापना, उद्यमसम्बन्धी व्यावहारिक शिक्षा, सीप विकास तालिम र निजी क्षेत्र–सरकार सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।
Advertisment