Below Menu
Below Menu

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता निरन्तर कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (मंगलबार) २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

राष्ट्र बैंकले एक वर्षे अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘घ’ निष्कासन गर्न लागेको हो। यसअघि पनि पुस २० गते राष्ट्र बैंकले सोही अवधिको २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो। तर, बैंकिङ प्रणालीमा अझै तरलता थुप्रिँदै गएपछि उही अवधि र रकमको ऋणपत्र पुनः जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ। ऋणपत्र खरिद गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र योग्य हुनेछन्।

ऋणपत्र खरिद गर्न इच्छुक संस्थाहरूले पुस २२ गते मंगलबार दिउँसो २ बजेसम्म आफूले कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछाडि चार अंकसम्म) उल्लेख गरी बोलकबोल पेश गर्नुपर्नेछ।

राष्ट्र बैंकले बोलकबोलबाट प्राप्त प्रस्तावहरूलाई ब्याजदरको आधारमा सानोदेखि ठूलो क्रममा राखी आह्वान गरिएको रकमसम्म वा समितिले तोकेको सीमाभित्र पर्ने ब्याजदरलाई एकल ब्याजदर कायम गर्नेछ। सो एकल ब्याजदर वा त्यसभन्दा कम ब्याजदरमा बोल गर्ने संस्थाहरूलाई ऋणपत्र बिक्री गरिनेछ। यदि समान ब्याजदरमा प्राप्त बोल रकम कुल निष्कासित रकमभन्दा बढी भएमा सो रकम समानुपातिक रूपमा बाँडफाँट गरिनेछ।

उक्त ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी २०८३ पुस २२ गते गरिनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ।

स्वीकृत बोल रकम निष्कासन मितिमै सम्बन्धित काउण्टरपार्टीको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरिनेछ। निष्कासन मितिमा खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता संस्थाको स्वीकृत बोल स्वतः रद्द हुने छ। साथै, रद्द भएको रकमको २.५ प्रतिशत हर्जाना तिराउनुपर्ने र ती संस्थालाई ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

ऋणपत्र निष्कासनको शर्तअनुसार निर्धारित अवधिमा ब्याज तथा परिपक्वतामा साँवा रकम सम्बन्धित काउण्टरपार्टीको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ।

स्वीकृत बोल रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा समावेश हुने भएकाले यसलाई अनिवार्य नगद मौज्दात मा गणना गर्न पाइने छैन। तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपातमा भने उक्त रकम गणना गर्न सकिनेछ।

ऋणपत्र खरिद गर्ने काउण्टरपार्टीलाई नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि (सातौं संशोधन), २०७८ को अनुसूची–९ बमोजिम प्रमाणपत्र प्रदान गरिनेछ। परिपक्वतामा साँवा तथा ब्याज भुक्तानी भएपछि उक्त प्रमाणपत्र स्वतः रद्द हुने राष्ट्र बैंकले जनाएको छ।

Advertisment

थप समाचार