काठमाडौं : सालपा विकास बैंक लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आगामी पुस २५ गते शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ बाँडफाँटका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी (प्रि–अलॉटमेन्ट) पूरा भइसकेको छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार कम्पनीको आईपीओमा माग भन्दा १९.३७ गुणा बढी आवेदन परेको छ । अन्तिम तथ्याङ्कअनुसार कम्पनीको आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना लगानीकर्ताले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।
पुस १६ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार गोलाप्रथाबाट बाँडफाँट गर्दा कुल आवेदकमध्ये मात्र एक लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले शेयर हात पार्नेछन्।
आवेदन दिएकामध्ये २२ लाख ३९ हजारभन्दा बढी लगानीकर्ताको हात खाली हुने देखिन्छ। बैंकले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरमध्ये बाँकी रहेको कित्ता समेत थप गरी सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
Advertisment