काठमाडौं : बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ मा पहिलोपटक जारी गरेको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ मा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य आकर्षण देखिएको छ।
राष्ट्र बैंकले एक वर्षे अवधिका पाँच चरणमा लिलामीमार्फत कुल एक खर्ब २० अर्ब रुपैयाँ बराबरका ऋणपत्र निष्कासन गरेको थियो। तर, सो रकमका लागि ३ खर्ब ५ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ, जुन आह्वान गरिएको रकमभन्दा करिब तीन गुणा बढी हो।
राष्ट्र बैंकका अनुसार २०८२ भदौ १४ देखि २३ गतेसम्म सम्पन्न पाँचै चरणका लिलामीमा ३२ वटा बैंक तथा वित्तीय संस्थाबाट ४१६ वटा बोलपत्र प्राप्त भएका थिए।
पहिलो चरणमा पुस १४ गते निष्कासन गरिएको २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रका लागि एक खर्ब २० अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो। उक्त ऋणपत्रको कुपन दर (ब्याजदर) २.६४ प्रतिशत कायम गरिएको थियो।
त्यसपछि पुस १६ गते दोस्रो चरणमा जारी गरिएको २५ अर्ब रुपैयाँको ऋणपत्रमा ५१ अर्ब ५ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो, जसको ब्याजदर २.६७ प्रतिशत थियो।
पुस २० गते तेस्रो चरणमा २५ अर्ब रुपैयाँका लागि ५३ अर्ब ९५ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो। उक्त ऋणपत्रको ब्याजदर २.६८ प्रतिशत निर्धारण गरिएको छ।
त्यस्तै, पुस २२ गते चौथो चरणमा २५ अर्ब रुपैयाँका लागि ३७ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो भने ब्याजदर २.६९ प्रतिशत कायम गरिएको थियो।
पाँचौँ चरणमा पुस २३ गते २० अर्ब रुपैयाँ बराबरको ऋणपत्रका लागि ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको आवेदन परेको छ। यस चरणको ब्याजदर २.७२ प्रतिशत रहेको छ।
पाँचै चरणमा ऋणपत्रको कुपन दर २.६४ प्रतिशतदेखि २.७२ प्रतिशतसम्म रहेको छ। सबै ऋणपत्रको परिपक्वता अवधि एक वर्ष रहेको छ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले प्राप्त आवेदनमध्ये प्रस्तावित रकम बराबर एक खर्ब २० अर्ब रुपैयाँ मात्र स्वीकृत गरेको छ। यसले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त रहेको र बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित तथा सरकारीस्तरका लगानी उपकरणतर्फ आकर्षित भएको स्पष्ट संकेत गरेको छ।
कर्जा माग कमजोर, तरलता थुप्रिँदै
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप निरन्तर वृद्धि भइरहे पनि कर्जाको माग कमजोर रहँदा अधिक तरलता देखिन थालेको छ। अन्तरबैंक ब्याजदर तोकिएको न्यूनतम सीमाभन्दा तल झर्न नदिन राष्ट्र बैंकले पटक–पटक प्रणालीबाट रकम तान्नुपर्ने अवस्था आएको छ।
राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७६ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५७ खर्ब १२ अर्ब रुपैयाँ मात्र रहेको छ। बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था भए पनि हाल कर्जा–निक्षेप अनुपात ९सीडी रेसियो० ७३।९३ प्रतिशत मा सीमित छ।
अधिक तरलता व्यवस्थापनका लागि यसअघि रिपो, रिभर्स रिपो तथा निक्षेप संकलन उपकरण प्रयोग हुँदै आएकोमा, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नयाँ मौद्रिक उपकरणका रूपमा ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ जारी गर्ने व्यवस्था गरेको हो।
Advertisment