Below Menu
Below Menu

३२ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, यस्तो छ देशको आर्थिक स्थिति 

३२ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, यस्तो छ देशको आर्थिक स्थिति 

काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा विदेशी विनिमय सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

Sponsored Advertisement

गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई यस अवधिमा आइपुग्दा ३२ खर्ब एक अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति असारमा १९ अर्ब ५० करोड रहेकोमा मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकामा मङ्सिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रहेकोमा मङ्सिर मसान्तमा २७.४ प्रतिशतले वद्धि भई तीन खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको छ । 

यस अवधिमा रहेको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

यस्तो छ देशको आर्थिक स्थिति 

- वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ । 

- कुल विदेशी विनिमय सञ्चिति रु.३२०१ अर्ब ४७ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । यस्तो सञ्चिति १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । 

- चालु खाता रु.३५८ अर्ब ८३ करोड र शोधनान्तर रु.४२१ अर्ब ८९ करोड बचतमा रहेको छ । 

- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.६ प्रतिशतले र अमेरिकी डलरमा २९.० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनाको विप्रेषण आप्रवाह रु. १८३ अर्ब १८ करोड रहेको छ । 

- निर्यात ५८.२ प्रतिशतले र आयात १५.८ प्रतिशतले बढेको छ ।

- नेपाल सरकारको खर्च रु.५६४ अर्ब ४६ करोड र राजस्व परिचालन रु.४०६ अर्ब ३० करोड रहेको छ ।

- विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको छ ।

- बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेकोछ ।

- बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७४ प्रतिशत र ९१– दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ ।

- वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.२६ प्रतिशत रहेको छ ।
 


 

थप समाचार