Below Menu
Below Menu

वैदेशिक आम्दानी बढ्दा चालु खाता र शोधनान्तर स्थितिमा दोब्बरले वृद्धि

वैदेशिक आम्दानी बढ्दा चालु खाता र शोधनान्तर स्थितिमा दोब्बरले वृद्धि

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले चालु खाता र शोधनान्तर दुवैमा उल्लेखनीय सुधार हासिल गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस अवधिमा चालु खाता करिब साढे तीन खर्ब रुपैयाँले बचतमा रहेको छ।

Sponsored Advertisement

समीक्षा अवधिमा चालु खाता ३५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १५८ अर्ब ४५ करोड रुपैयाँले मात्र बचतमा रहेको थियो। अमेरिकी डलरमा हेर्दा, गत वर्षको पाँच महिनामा १ अर्ब १८ करोड डलर बचतमा रहेको चालु खाता यस वर्ष बढेर २ अर्ब ५४ करोड डलर पुगेको छ।

यसै अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५० करोड रुपैयाँ मात्र रहेको थियो।

त्यसैगरी, समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ७ अर्ब ४७ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ६ अर्ब ३ करोड रुपैयाँ थियो।

शोधनान्तर स्थितिमा पनि उल्लेखनीय सुधार देखिएको छ। पाँच महिनाको अवधिमा शोधनान्तर स्थिति ४२१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो बचत २२५ अर्ब ३४ करोड रुपैयाँ मात्र थियो। अमेरिकी डलरमा भने, शोधनान्तर स्थिति गत वर्षको १ अर्ब ६८ करोड डलरबाट बढेर यस वर्ष २ अर्ब ९८ करोड डलर पुगेको छ।

 राष्ट्र बैंकका अनुसार आयात व्यवस्थापन, रेमिट्यान्स प्रवाहमा वृद्धि तथा वैदेशिक लगानीको सुधारले बाह्य क्षेत्र मजबुत बनेको छ।

थप समाचार