काठमाडौं : नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच नेपालको पूँजी बजार तथा विद्युत् उत्पादन क्षेत्रको सुदृढीकरणका लागि सहकार्य विस्तार गर्ने उद्देश्यले संयुक्त बैठक सम्पन्न भएको छ । बैठक पौष २४ गते बिहीबार नेपाल धितोपत्र बोर्डको कार्यालय खुमलटारमा सम्पन्न भएको हो ।
बैठकमा पूँजी बजारमार्फत विद्युत् उत्पादनसम्बन्धी परियोजनामा लगानी प्रवर्द्धन गर्ने, नियामक निकायहरूबीच समन्वय सुदृढ बनाउने तथा नीतिगत सामञ्जस्यता कायम गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो । दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्र आवश्यक रहेको निष्कर्षमा दुवै निकायका प्रतिनिधिहरू एकमत भएका छन् ।
बैठकमा सहभागी बोर्ड र आयोगका प्रमुख तथा प्रतिनिधिहरूले पूँजी बजारप्रति विश्वास अभिवृद्धि गर्ने, लगानीका अवसर विस्तार गर्ने र विद्युत् उत्पादन क्षेत्रको दीर्घकालीन विकास तथा स्थायित्वमा योगदान पुर्याउने लक्ष्यसहित निरन्तर सहकार्य, सूचना आदान–प्रदान र संयुक्त पहललाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी, पूँजी बजार र विद्युत् क्षेत्रबीचको सम्बन्धलाई थप संस्थागत र परिणाममुखी बनाउन दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गर्ने विषयमा समेत छलफल भएको छ । उक्त कार्यदलले लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय तथा विद्यमान नियम–कानूनमा आवश्यक परिमार्जनका लागि ठोस उपायहरू पहिचान गर्ने उद्देश्य राख्नेछ ।
बैठकमा नेपाल धितोपत्र बोर्डका तर्फबाट अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, कार्यकारी निर्देशकहरू विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश के।सी।को सहभागिता रहेको थियो । यस्तै, विद्युत् नियमन आयोगका तर्फबाट अध्यक्ष डा। रामप्रसाद धिताल, सदस्यहरू डा। मधुसुदन अधिकारी र भगिरथि भट्टराई ज्ञवालीसहित अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।