काठमाडौं : नेपाल आयल निगमले एक वर्षमा साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । निगमले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा तीन अर्ब ६७ अर्ब रुपैयाँको कारोबार गरेको हो ।
एक वर्षमा ३६७ अर्बको कारोबार गर्दै निगमले १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। सोही अवधिमा निगमले सरकारलाई १२४ अर्ब रुपैयाँ राजस्वसमेत बुझाएको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टका अनुसार स्वचालित मूल्य प्रणालीको निरन्तर कार्यान्वयनका कारण निगम आर्थिक रूपमा सुदृढ बन्दै गएको हो। गत वर्ष निगमले पेट्रोल ६३ हजार किलोलिटर, डिजेल १ लाख २२ हजार किलोलिटर, मट्टितेल २ हजार किलोलिटर, हवाई इन्धन १८ हजार किलोलिटर तथा एलपी ग्यास ४६ हजार मेट्रिक टन आपूर्ति गरेको छ।
यसैबीच नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवको अवसरमा बबरमहलस्थित नवनिर्मित प्रधान कार्यालय भवनको उद्घाटन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय अनिल कुमार सिन्हाले शनिबार उक्त भवनको उद्घाटन गरेका हुन्।
वि.सं. २०२७ साल पौष २६ गते स्थापना भएको निगमले ५५ वर्ष पूरा गरी ५६औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक डा. भट्टले संकट, नाकाबन्दी र आपूर्ति चुनौतीका बाबजुद पनि निगमले देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्दै आएको बताए।
उनका अनुसार भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म सञ्चालनमा आएको पेट्रोलियम पाइपलाइनले ढुवानी लागत घटाउँदै उपभोक्तालाई प्रतिलिटर करिब दुई रुपैयाँसम्म सस्तो मूल्यमा पेट्रोल र डिजेल उपलब्ध गराउन सहयोग पुर्याएको छ।
साथै सिलिगुडी–चारआली पाइपलाइन, लोथर भण्डारण गृह तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भण्डारण गृहजस्ता रणनीतिक पूर्वाधार परियोजनाहरू निर्माणाधीन रहेको जानकारी पनि उनले दिए।
कार्यक्रममा निगमका अध्यक्ष डा। रामप्रसाद घिमिरे, पूर्व अध्यक्ष माधव पौडेल, मन्त्रालयका सचिव तथा अन्य उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
डा. भट्टले आगामी दिनमा इथानोल मिश्रित पेट्रोल, हरित इन्धन, प्राकृतिक ग्यास प्रशोधन तथा डिपो स्थानान्तरणजस्ता योजनाहरू अघि बढाइने बताउँदै निगमले “सहजता, शुद्धता र पारदर्शिता” को नीतिअनुसार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।