काठमाडौं : नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार नेपालमा शंकास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ।
प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी गतिविधिमा हुने वित्तीय लगानी रोकथाम तथा आमविनाशका हातहतियार निर्माणमा हुने वित्तीय लगानी नियन्त्रणका लागि गरिएका नीतिगत र सञ्चालनगत कार्यहरूको विवरण समेटिएको छ।
यस वर्ष गोएएमएल प्रणालीमार्फत सङ्कलित वित्तीय सूचनामा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १,६३९ सूचक संस्था यस प्रणालीमा आबद्ध रहेकामा चालु वर्षमा त्यो संख्या बढेर ३,४९७ पुगेको छ। यही अवधिमा ९,५६५ वटा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त भएका छन्।
प्राप्त प्रतिवेदनको विश्लेषण पनि करिब ४० प्रतिशतले बढेको छ। विश्लेषणपछि ९४५ वटा शंकास्पद कारोबारमा आधारित वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायहरूलाई पठाइएको छ। यसले वित्तीय अपराधको अनुसन्धान र कारबाहीमा सहयोग पुगेको इकाईले जनाएको छ।
अन्तर्राष्ट्रिय सहकार्य पनि बढाइएको छ। आर्थिक वर्ष २०८१/८२ मा विदेशी वित्तीय जानकारी इकाईहरूसँग ६४ वटा सूचना आदान–प्रदान गरिएको छ। यसले सीमापार वित्तीय कारोबार, अन्तरदेशीय अपराध र साइबर ठगी नियन्त्रणमा सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ। सन् २०२३ मा एफएटीएफको मूल्याङ्कनपछि नेपाल ‘ग्रे–लिस्ट’ मा परेपछि गरिएका सुधार र समन्वयका प्रयासहरू पनि प्रतिवेदनमा समेटिएका छन्।
आगामी दिनमा जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण र अन्तरनिकाय समन्वयलाई प्राथमिकता दिइने इकाईले जनाएको छ। वित्तीय सूचना विश्लेषणको गुणस्तर सुधार गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।
Advertisment