Below Menu
Below Menu

माघे संक्रान्ति अवसरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–८३’ सुरू

माघे संक्रान्ति अवसरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–८३’ सुरू

काठमाडौं : आज (माघ १ गते) बाट काठमाडौँको बानेश्वरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–०८३’ सुरू भएको छ।

डिग फर नेपाल र वल्ड मार्ट युनिक सलुसन्सले संयुक्त रूपमा आयोजना गरेको यो मेला चौँथो जैविक विविधता दिवसको अवसरमा हरेक शनिवार र विशेष पर्वरअवसरमा ५२ हप्तासम्म सञ्चालन हुने बताइएको छ।

आजको माघे संक्रान्ति विशेष कार्यक्रम अन्तर्गत मौलिक परिकार तथा फुड फेस्टिभल, परिकार प्रदर्शनी, लाइभ कुकिङ, मौलिक भान्साघरद्वारा फुड फेस्टिभल र स्थानीय तथा रैथाने खानाको प्रवर्धन गरिएको छ। प्रमुख परिकारमा चाकु, तिल, तरुल, खिचडी, सेलरोटी, घ्यू–मह लगायत परम्परागत स्वाद समावेश छन्।

मेलाको माघ विशेष ५ दिने कार्यक्रम पनि आजदेखि सुरू भएको छ। तयारी चरण माघ ३ गते हुने छ, जसमा सहभागी पालिकाका प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी मेला उद्देश्य, कार्यविधि, स्टल व्यवस्थापन, ब्रान्डिङ र बिक्री रणनीति साझा गरिने जनाइएको छ।

माघ १० गते स्टल र पवेलियनको संरचना स्थापना र प्रचार–प्रसार सामग्री जडान सुरू हुनेछ भने माघ १७ गते सातै प्रदेशबाट ३० पालिकाको सहभागितामा स्थानीय तथा मौलिक उत्पादनको प्रदर्शनी र मौलिक परिकारको स्वाद अनुभव गराइने जनाइएको छ। माघ २४ गते मेलाको औपचारिक उद्घाटन समारोह आयोजना हुँदै प्रमुख अतिथि, विशिष्ट व्यक्तिहरू, मिडिया र सरोकारवालासहित ५२ हप्ते मेला औपचारिक रूपमा घोषणा गरिनेछ।

आयोजकका अनुसार मेलाले ग्रामीण नेपालको स्वादलाई शहरी घरधुरीसम्म पुर्‍याउने दीर्घकालीन प्रयासको रूपमा काम गर्नेछ। दुर्गम क्षेत्रका साना किसानबाट सङ्कलित कच्चा पदार्थलाई पोषणयुक्त, स्वच्छ र न्यून प्रशोधन गरिएका खाद्य सामग्रीको रूपमा उपभोक्तासम्म पुर्‍याइने छ। यसले किसानलाई उचित मूल्य सुनिश्चित गर्नुका साथै स्थानीय प्रशोधन, प्याकेजिङ र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सातै प्रदेशका स्थानीय शेफद्वारा तयार गरिएका परिकार, स्थानीय कृषि तथा गैर–कृषि उत्पादनको प्रदर्शनी र प्रत्यक्ष बिक्री, पोषण र जैविक विविधतासम्बन्धी जनचेतना कार्यक्रम, उत्पादक र लगानीकर्ताबिच व्यवसायिक सञ्जाल, परम्परागत संगीत र सांस्कृतिक पोशाकको प्रस्तुति मेलाको मुख्य आकर्षण हुनेछन्।

आयोजकका अनुसार मेलाले सातै प्रदेशका रैथाने उत्पादनको बिक्री र पहिचान बढाउने, महिला उद्यमी र साना किसानको आम्दानी वृद्धि गर्ने, मौलिक खानपान र सांस्कृतिक सम्पदा संरक्षण गर्ने र स्थानीय आर्थिक चक्रलाई सक्रिय बनाउने लक्ष्य राखेको छ।

Advertisment

थप समाचार