लगानी बोर्डद्वारा एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्ने गृहकार्य, १४ निकायले तोके फोकल पर्सन

लगानी बोर्डद्वारा एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्ने गृहकार्य, १४ निकायले तोके फोकल पर्सन

काठमाडौं : लगानी बोर्ड नेपालले छिटो छरितो रुपमा सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई थप आकर्षित गरी लगानी वृद्धिका लागि सहज बनाउन एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ । 

लगानी बोर्डले एकल विन्दु सेवा केन्द्रको संयोजन गर्ने कार्यका लागि सहसचिव हेमराज तामाङलाई तोकेको छ । एकल विन्दु सेवा केन्द्रसँग समन्वय गरी कार्य अघि बढाउन १४ वटा सरकारी निकायले अख्तयारीसहित फोकल पर्सन तोकेका छन् । जसमा निम्नानुसारका मन्त्रालय,  विभाग एवं निकायहरु रहेका छन् ।

- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

-  वन तथा वातावरण मन्त्रालय

-  नेपाल राष्ट्र बैंक

- अध्यागमन विभाग

- आन्तरिक राजस्व विभाग

- उद्योग विभाग

- खानी तथा भूगर्भ विभाग

-  भन्सार विभाग

-  श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग

-  विद्युत विकास विभाग

- कम्पनी रजिष्ट्रारको कार्यालय

- नेपाल दुरसञ्चार प्राधिकरण

बोर्डले तोकेका अरु निकायहरुले पनि फोकल पर्सन तोक्न सक्नेछन् । 

बोर्डको कार्यालयले एकल विन्दु सेवा केन्द्रका लागि सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुसँगको समन्वयमा कार्यविधिको मस्यौदा तयार पारेको छ ।

बोर्डले तत्कालका लागि सम्बन्धत मन्त्रालयरनिकायका फोकल पर्सनसँग समन्वय गरी कार्य अघि बढाउनेछ । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जेन्जी आन्दोलनका क्रममा बोर्डको कार्यालयमा आगजनी भएको हुँदा नयाँ कार्यालयको व्यवस्थापन र कार्यविधिले अन्तिम रुप पाएपछि एकै ठाउँबाट सेवा प्रवाह हुने बताउनुभयो । अटोमेसनबाट काम हुने हुँदा प्रविधिको प्रयोग महत्वपूर्ण भएको उहाँको भनाइ छ । 

फोकल पर्सनहरुसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानीसम्बन्धी राष्ट्रिय लक्ष्य प्राप्ति र सुशासन कायम गर्नका लागि अपनत्व लिएर काम अघि बढाउन अनुरोध गरे । ‘लगानी बोर्डले सबैसँग समन्वय गरेर काम गर्छ । यसमा सबै निकायहरुको साथ  र सहयोग अपेक्षित छ’, ज्ञवालीले भने ।

विज्ञ रामकृष्ण सापकोटाले धेरै निकायहरुबाट सेवा प्रवाह गर्नु पर्दा लगानीकर्तालाई झन्झटिलो हुने भन्दै एकल विन्दु सेवा केन्द्रको कार्यान्वयनले लगानीकर्तासँग सम्बन्धित कार्यहरु चुस्त रुपमा हुन सक्ने बताए । 

अहिलेका लागि फोकल पर्सन सम्बन्धित मन्त्रालयरनिकायको सिंगल प्वाइन्ट अफ कन्ट्याक्ट हुनेछन् । उनीहरुले लगानी बोर्डको कार्यालयबाट सिफारिस भएका आ–आफ्नो निकायसँग सम्बन्धित कार्यहरु सम्पादन गर्नमा सहजीकरण गर्नेछन् । 

लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार फोकल पर्सनले सार्वजनिक निजी साझेदारी ऐन २०७५, सार्वजनिक तथा लगानी नियमावली २०७७  र लगानी बोर्डको  रणनीति तथा व्यावसायिक योजनाले तोकेका सेवा प्रवाहसम्बन्धी कार्यहरु गर्न सहयोग पुर्याउनेछन् ।

यस्तै उनीहरुले लगानी बोर्डको कार्यालयबाट प्राप्त फाइल तथा पत्रको समयमै राय प्रतिकृया दिने, कार्यरत निकाय तथा लागनी बोर्डको कार्यालयबीच पुलको काम गर्ने, संस्थागत समन्वयकर्ताको भूमिका निर्वाह गर्ने लगायतका कार्यहरु गर्नेछन् । 

थप समाचार