काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा नेपालको वैदेशिक व्यापारको आकार बढेपनि व्यापार घाटाको अवस्था अझै भयावह देखिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा साढे १० खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले सात खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ ६७ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
गत वर्षको तुलनामा व्यापार घाटा १०.१५ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले सात खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यस अवधिमा नेपालको वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेको छ । पुस मसातसम्म नेपालले १० खर्ब ८१ अर्ब चार करोड आठ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा नौ खर्ब २१ अर्ब १५ करोड ९७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
निर्यातको फड्को तर आयातको भार
विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । छ महिनामा सवा नौ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने झण्डै साढे एक खर्बको वस्तु तथा सेवा निर्यात भएको छ
मंसिरसम्ममा आयात १४.१८ प्रतिशत र निर्यात ४३.७६ प्रतिशतले बढेको छ । विभागका अनुसार यस अवधिमा नौ खर्ब ३९ अर्ब दुई करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस अवधिमा एक खर्ब ४२ अर्ब एक करोड ८० लाख १६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ९८ अर्ब ७८ करोड ९२ लाख ४७हजार रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
निर्यात वृद्धिले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको संकेत गरेको छ । यद्यपी निर्यातको उच्च वृद्धि दरले पनि व्यापार घाटा कम गर्न खासै योगदान पुर्याउन सकेको छैन ।
विलासी वस्तु र पेट्रोलियम पदार्थको बढ्दो आयातले गर्दा देशको शोधनान्तर स्थितिमा चाप परिरहेको छ ।
यस अवधिमा नेपालले १५२ देशसँगको वैदेशिक व्यापार गरेको छ । जसमध्ये ३२ देशसँगको व्यापार नाफामा छ भने १२० देशसँगको व्यापार घाटामा रहेको छ ।
Advertisment