काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आर्थिक आर्थिक वर्षको पस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको कुल ऋण लगानी १६ अर्ब ८६ करोड सात लाख ८६ हजार रुपैयाँ पुगेको छ भने कुल बचत ४८ अर्ब ५१ करोड ६७ लाख ६४ हजार रुपैयाँ पुगेको छ।
बैंकको वित्तीय विवरणअनुसार हाल बैंकको शेयर पुँजी २ अर्ब ९० करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको छ। त्यसैगरी, बैंकले विभिन्न स्रोतबाट एक अर्ब ४७ करोड ३१ लाख ४२ हजार रुपैयाँ जगेडा कोषमा संकलन गरेको छ।
सहकारी संस्थाहरूलाई लक्षित गर्दै बैंकले गरेको ऋण लगानी सहकारी क्षेत्रको वित्तीय पहुँच विस्तारमा सहयोगी बनेको देखिन्छ। बचत संकलनको वृद्धिले बैंकप्रति सहकारी संस्था तथा शेयर सदस्यहरूको विश्वास बढ्दै गएको देखिएको छ ।
बैंकको तरलता रकम ३१ अर्ब ३४ करोड ३४ लाख ८९ हजार रुपैयाँ रहेको छ भने तरलता प्रतिशत ६४.६० प्रतिशत कायम भएको छ, जुन नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सुरक्षित तहमा रहेको बैंकले जनाएको छ।
हाल राष्ट्रिय सहकारी बैंकमा १६ हजार ४८१ जना शेयर सदस्य रहेका छन् भने एक हजार ४१२ वटा सहकारी संस्थाहरू बैंकका सदस्य रहेका छन्। बैंकको कुल सम्पत्ति ६० अर्ब ३८ करोड ३५ लाख २३ हजार रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
Advertisment