काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ९.४३ अंकले घटेर २७०५.३८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा नौ अर्ब सात करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा आठ अर्ब ९२ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४० करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज कालिका पावर कम्पनीको शेयरमूल्य ६.२५ प्रतिशतले घटेको छ ।