Below Menu
Below Menu

भारतीयलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाउने छ जनाविरुद्ध अख्तियारको मुद्दा  

भारतीयलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाउने छ जनाविरुद्ध अख्तियारको मुद्दा  

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिकलाई अवैध रूपमा नेपाली नागरिकता दिलाएको अभियोगमा दाङका स्थानीय तह र प्रशासनका जिम्मेवार पदाधिकारीसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार जिल्ला दाङको राजपुर गाउँपालिका–४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), वडा सचिव राजेश कुमार कहार, कार्यालय सहायक मिना चौधरी तथा इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेम बहादुर खवासले मिलेमतो गरी भारतीय नागरिक आलम जोल्हालाई वंशजको आधारमा नेपाली नागरिकता दिलाएका हुन्।

अनुसन्धानका क्रममा आलम जोल्हालाई दाङको राजपुर गाउँपालिका–४ स्थायी ठेगाना भएका स्वर्गीय सनाउल्ला जोल्हाको छोरा देखाउने उद्देश्यले मृत्युदर्ता र जन्मदर्ता प्रमाणपत्रमा व्यापक हेरफेर गरिएको पाइएको अख्तियारले जनाएको छ। वास्तविक रूपमा सनाउल्ला जोल्हाको २०३८ सालमै मृत्यु भइसकेको भए पनि २०४१ सालमा मृत्यु भएको देखाई झुट्टा मृत्युदर्ता प्रमाणपत्र तयार गरिएको थियो।

त्यसैगरी आलम जोल्हा २०३९ सालमा दाङमै जन्म भएको भनी झुट्टा जन्मदर्ता प्रमाणपत्र बनाइएको र उनकी बहिनी आएसा जोल्हाले सहोदर दाजु भनी झुट्टा सनाखत गरेको पाइएको छ। सोही आधारमा वडा अध्यक्षको सिफारिस र इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुखको निर्णयबाट २०७५ साल मंसिर २८ गते आलम जोल्हालाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको अख्तियारको निष्कर्ष छ।

अख्तियारले यस प्रकरणमा संलग्न व्यक्तिहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय मागदाबी गरेको छ

मुख्य प्रतिवादीहरूविरुद्ध कैद तथा जरिवानाको सजाय माग गरिएको छ भने आलम र आएसा जोल्हालाई मुख्य कसूरदार सरह सजाय हुनुपर्ने मागदाबी लिइएको अख्तियारले जनाएको छ।

Advertisment

थप समाचार