Below Menu
Below Menu

सरकारी खातामा तीन खर्बको थुप्रो, राष्ट्र बैंकको रिजर्भ र नगद प्रवाहमा उल्लेख्य सुधार

सरकारी खातामा तीन खर्बको थुप्रो, राष्ट्र बैंकको रिजर्भ र नगद प्रवाहमा उल्लेख्य सुधार

काठमाडौं : चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा नेपाल राष्ट्र बैंकको कुल दायित्व तथा इक्विटीमा उल्लेख्य वृद्धि देखिएको छ। राष्ट्र 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कुल दायित्व तथा इक्विटी ३२ खर्ब ३० अर्ब ३१ करोड १४ लाख ९९ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तमा यस्तो रकम २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ३९ हजार रुपैयाँ थियो।

विदेशी मुद्रामा रहेका दायित्व पनि बढेका छन्। पुस मसान्तसम्म विदेशी मुद्रामा रहेका कुल दायित्व ५२ अर्ब ६८ करोड ३२ लाख ८१ हजार रुपैयाँ पुगेको छ, जबकि असार मसान्तमा यो ५१ अर्ब ७३ करोड १३ लाख २८ हजार रुपैयाँ थियो। यी दायित्वमध्ये बैंक तथा वित्तीय संस्थाको निक्षेप ९ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ रहेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्बन्धित दायित्व ४२ अर्ब ९९ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

स्थानीय मुद्रामा रहेका दायित्वतर्फ अझ तीव्र वृद्धि देखिएको छ। पुस मसान्तसम्म स्थानीय मुद्रामा रहेका कुल दायित्व २३ खर्ब ८ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ पुगेका छन्। असार मसान्तमा यस्तो दायित्व १९ खर्ब ४३ अर्ब ४८ करोड १८ लाख रुपैयाँ थियो।

यस अवधिमा बजारमा नगद प्रवाह पनि बढ्दो क्रममा रहेको छ। पुस मसान्तसम्म करेन्सी इन सर्कुलेशन ७ खर्ब ६० अर्ब १० करोड २९ लाख रुपैयाँ पुगेको छ, जबकि असारमा यो ७ खर्ब ५० अर्ब ११ करोड २४ लाख रुपैयाँ थियो।

बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले लिएको निक्षेप ६ खर्ब २१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। सरकारको निक्षेपमा झन् ठूलो वृद्धि देखिएको छ—पुस मसान्तसम्म ३ खर्ब ४ अर्ब ३६ करोड रुपैयाँ, जुन असार मसान्तमा मात्र ७० अर्ब ८३ करोड रुपैयाँ थियो। सरकारी खातामा नगद सञ्चिति उल्लेख्य रूपमा बढेको छ । 

यस अवधिमा सरप्लस मौज्दात १७ अर्ब रुपैयाँ पुगेको छ, जबकि असार मसान्तमा यस्तो सरप्लस ४२ अर्ब रुपैयाँ थियो। कर्मचारी पेन्सन तथा अन्य सुविधा वापतको दायित्व ९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने अन्य दायित्वहरू २ अर्ब ८७ करोड रुपैयाँ रहेका छन्।

इक्विटी तर्फ, राष्ट्र बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ यथावत् रहेको छ। तर रिजर्भ तथा कोष उल्लेख्य रूपमा बढेर ८ खर्ब ६४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। गत असारमा यस्तो रिजर्भ ६ खर्ब ७१ अर्ब २ करोड रुपैयाँ मात्र थियो।

पुस मसान्तसम्म राष्ट्र बैंकको दायित्व र इक्विटी दुवैमा देखिएको यो वृद्धि अर्थतन्त्र क्रमशः स्थिर बन्दै गएको र सरकारी वित्तीय व्यवस्थापन तथा मौद्रिक नीतिको कार्यान्वयनमा सुधार आएको देखिएको हो । सरकारी निक्षेप, रिजर्भ र बजारमा नगद प्रवाह बढ्नुले आर्थिक गतिविधि विस्तार हुँदै गएको तथ्यांकले देखाएको छ । 

Advertisment

थप समाचार